काठमाडौँ । नेपाल चिकित्सक संघ (एनएमए) ले जनशक्ति नथपेको अवस्थामा आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने बताएको छ । स्वास्थ्य मन्त्रालयले सार्बजनिक बिदा भएपनि आइतबार अस्पतालहरुमा ओपिडी संचालन गर्न निर्देशन दिएपछि संघले जनशक्ति नथपिएको अवस्थामा आइतबार ओपिडी सेवा संचालन गर्न नसकिने जनाएको हो ।
सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेसँगै अस्पतालहरुले पनि ओपीडी सेवा बन्द गर्ने निर्णय गरेका थिए । त्यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवा प्रवाहमा अवरोध नआउने गरी आइतबारसमेत ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । ओपीडी सेवा कुनै पनि प्रदेशमा बन्द नगर्न बताएको थियो, तर संघले विज्ञप्ति जारी गर्दै अस्पतालहरुमा जनशक्ति अभावका कारण उक्त व्यवस्था कार्यान्वयन गर्न नसकिने जनाएको हो ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरू ९ बजेदेखि ५ बजेसम्मको नियमित ड्युटीबाहेक अनकल, वार्ड राउन्ड, आकस्मिक सेवालगायत २४ घण्टा सेवा दिइरहेको संघले जनाउदै यस्तो अवस्थामा अतिरिक्त कार्यभार थपिँदा सेवाको गुणस्तरमा असर पर्ने जोखिम रहेको विज्ञप्ति मार्फत स्पष्ट पारेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा प्रकाशित नयाँ बिदा व्यवस्थाले स्वास्थ्य सेवा प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मन्त्रालयले अस्पतालहरूलाई कार्यभार र उपलब्ध जनशक्ति अनुसार आइतबार पनि ओपीडी सञ्चालन गर्न आग्रह गरेको थियो । साथै, कर्मचारी व्यवस्थापनका लागि शनिबार बाहेक अर्को एक दिन बिदा दिने वा सो सम्भव नभए सट्टा बिदा उपलब्ध गराउनसमेत निर्देशन दिएको थियो ।
तर, संघले विगतमा कानुनी जटिलताका कारण सट्टा बिदा कार्यान्वयन हुन नसकेको बताउँदै यो व्यवस्था व्यवहारिक नहुने जनाएको छ । साथै, विभिन्न अस्पतालमा फरक–फरक दिन बिदा हुँदा सेवाग्राहीहरू अन्योल सिर्जना हुने हुनुको साथै झनझट व्यहोर्नुपर्ने र सेवा प्रवाहमा गम्भीर असर पर्नेसमेत जनाएको छ ।
इन्धन अभावको कारण देखाउँदै हप्ताको दुई दिन बिदा दिने निर्णय गरिए पनि स्वास्थ्य संस्थामा ओपीडी समय थप बढाइ इन्धनको थप अपव्यय गरिनु अत्यन्त अव्यवहारिक रहेको नेपाल चिकित्सक संघले जनाएको छ ।
संघले स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति व्यवस्थापन नगरी यस्तो निर्णय कार्यान्वयन गर्न खोजिए सेवा प्रणाली नै प्रभावित हुने चेतावनी समेत दिएको छ । मन्त्रालयले आफ्नो निर्णय पुनर्विचार गर्नुपर्ने माग गर्दै एनएमएले अन्यथा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू संघर्षमा उत्रिन बाध्य हुने साथै त्यसको जिम्मेवार मन्त्रालय स्वयं हुने चेतावनी समेत दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-11
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
