काठमाडौं । करिब दुई तिहाई बहुमतसहितको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार गठनको सबै गृहकार्य पूरा गरेको छ । आगामी चैत १३ गते शुक्रबार रामनवमीको शुभ साइतमा प्रधानमन्त्री पदको सपथ लिने तयारीमा रहेका बालेन र पार्टी सभापति रवि लामिछानेबीच १५ सदस्यीय मन्त्रिपरिषद् बनाउने औपचारिक सहमति भएको छ ।
बालेन स्रोतका अनुसार दुवै नेताले लामो छलफलपछि मन्त्रिपरिषद्को पूर्ण सूची टुंग्याएका छन् । स्रोतका अनुसार प्रस्तावित मन्त्रिपरिषद् यसप्रकार छ :-
प्रधानमन्त्री तथा रक्षामन्त्री : बालेन्द्र शाह (बालेन)
गृहमन्त्री : डिपी आर्याल
अर्थमन्त्री : डा. स्वर्णिम वाग्ले
परराष्ट्रमन्त्री : शिशिर खनाल
सञ्चार तथा सूचना प्रविधिमन्त्री : मनिष झा
जलस्रोत तथा सिँचाइमन्त्री : अमरेश सिंह
भौतिक पूर्वाधार तथा यातायातमन्त्री : डा. सुनिल लम्साल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री : सस्मित पोखरेल
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री : सोविता गौतम
पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री : सुधन गुरुङ
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री : यज्ञमणि न्यौपाने
युवा तथा खेलकुदमन्त्री : बल्लु गुप्ता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री : तोसिमा कार्की
मन्त्रालय तोकिने बाँकी : दीपक बोहरालाई दोस्रो मन्त्रीको रूपमा समेत उल्लेख गरिएको छ, जसलाई अन्तिम रूप दिँदा मन्त्रालय तोकिन बाँकी छ । आशिका तामाङले मन्त्री बन्न निकै लबिङ गरिरहेको भए पनि उहाँको नाममा कुनै निर्णय नभएको स्रोतले स्पष्ट पारेको छ ।
सभामुख र उपसभामुखमा सहमति
बालेन र रविबीचको सहमतिमा संसद्को सभामुखमा पूर्वउपसभामुख इन्दिरा रानामगरको नाम तय भइसकेको छ । उपसभामुख भने अझै अनिर्णीत छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिने कि अर्को प्रतिपक्ष नेकपालाई दिने भन्नेमा छलफल जारी छ ।
स्रोतका अनुसार मन्त्रिपरिषद्का प्रस्तावित सदस्यहरूको नाम पूर्व स्वीकृतिका लागि शक्ति केन्द्रमा पठाइएको थियो र सबैबाट स्वीकृति प्राप्त भइसकेको छ । एक प्रस्तावित मन्त्रीका अनुसार, पहिलो दिनदेखि नै काम थाल्ने गरी कार्ययोजना बनाउन र निजी सचिवालयको टिम छनोट गर्न भनिसकिएको छ ।
बालेनको सचिवालय टिम तयार
प्रधानमन्त्री बालेनले आफ्नो मन्त्रिपरिषद् सचिवालयका लागि आफ्ना पूर्ण सहयोगी कुमार व्यञ्जनकार, भूपदेव शाह र प्रदीप परियारलाई जिम्मेवारी दिइसकेका छन् । यसैगरी टिम बालेनमा सामेल हुन पूर्व सल्लाहकार गोविन्द नारायण ९सुशील कार्की निकटले पनि प्रयास गरिरहेको बुझिएको छ ।
बालेन टिमले अहिले मन्त्रालयहरू गाभेर १५ बनाउने कि १८ मा राख्ने भन्नेमा अन्तिम गृहकार्य गरिरहेको छ । मन्त्रालयको संख्या र सम्मिलन टुंगिएपछि केही मन्त्रीको विभाग र जिम्मेवारीमा सामान्य फेरबदल हुन सक्ने सम्भावना पनि रहेको बताइएको छ । यो सहमतिपछि रास्वपाको १५ सदस्यीय मन्त्रिपरिषद् नेपालको राजनीतिक इतिहासमा नयाँ प्रयोग बन्ने देखिन्छ । युवा, प्राज्ञिक र स्वतन्त्र छविका व्यक्तिहरूको बाहुल्य रहेको यो टिमले ‘काम गर्छौं, कुरा गर्दैनौं’ भन्ने बालेनको पुरानो शैलीलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-24
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
