काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ सिटको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार १३ चैतमा बन्ने भएको छ । बिहीबार साँझ बसेको रास्वपा शीर्ष नेताहरूको बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले १३ चैतमा प्रधानमन्त्रीको शपथ लिने तय गरेको हो ।
संसद् सचिवालयले १२ चैतको दिउँसो २ बजे सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा नवनिर्वाचित सांसदहरूको शपथ राखेको छ । बिहान ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिने छन् । दिउँसो अन्य सदस्यहरूलाई केसीले शपथ गराउनेछन् । शपथको भोलिपल्ट १३ चैतमा वरिष्ठ नेता बालेनको नेतृत्वमा नयाँ सरकार गठन हुने रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । उनी बिहीबार दिउँसो संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठकमा पनि सहभागी थिए ।
सरकार गठनको निर्णायक ‘कोर्स’अन्तर्गत बिहीबार साँझ दरबारमार्गस्थित होटेल रोयल सिङ्गीमा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन तथा उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबिच छलफल भएको थियो । यही छलफलले १३ चैतमा बालेनले प्रधानमन्त्रीको शपथ लिने निष्कर्ष निकालेको हो ।
रास्वपा नेताहरूले बालेन सरकारमा जाने मन्त्रीहरूबारे केही सार्वजनिक गरेको छैन । तर, सरकार गठनको दिनसम्म मन्त्रीहरूको पनि टुंगो लाग्ने बताएका छन् । बुधबार पार्टीका सांसदहरूको अभिमुखीकरण कार्यक्रम समापनमा सभापति लामिछानेले ‘सबै सांसदको क्षमता पार्टीलाई थाहा भएकाले, योग्य व्यक्तिलाई मन्त्री बनाउने भएकाले कतै नधाउन’ भनेका थिए ।
निर्वाचन आयोगले अन्तिम मतपरिणाम बिहीबारै राष्ट्रपतिलाई बुझाएको छ । अन्तिम मतपरिणाम राष्ट्रपतिलाई बुझाउनुको अर्थ संसद्को ठुलो दललाई सरकार निर्माणका लागि प्रक्रिया सुरु गर्ने बाटो खुल्नु हो । रास्वपा नेता असिम शाहले निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम राष्ट्रपतिकहाँ गएपछि नयाँ सरकार गठनका लागि सभापति र वरिष्ठ नेताबिच औपचारिक छलफल सुरु भएको बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
