काठमाडौँ । प्रतिनिधि सभाको हालै सम्पन्न निर्वाचनपछि आएको परिणामले नेपाली काँग्रेसभित्र नेतृत्व, संगठन र भविष्यको रणनीतिबारे गम्भीर बहस सुरु भएको छ । कमजोर चुनावी प्रदर्शनपछि पार्टीका सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन सक्ने चर्चा राजनीतिक वृत्तमा फैलिएको छ । यही विषयलाई लिएर काँग्रेसभित्र विभिन्न धारणा सार्वजनिक हुन थालेका छन् र पार्टीभित्रको शक्ति सन्तुलनबारे पनि प्रश्न उठ्न थालेको छ ।
सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासँग भेट गरी राजीनामाबारे आफ्नो धारणा राखेका थिए । तर उपसभापति शर्माले अहिले राजीनामा दिने समय नभएको भन्दै नेतृत्वले जिम्मेवारी लिएर पार्टीलाई अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए । उनले चुनावी हारपछि नेतृत्व परिवर्तनभन्दा पनि संगठनलाई सम्हाल्ने र कार्यकर्तालाई एकताबद्ध बनाउने काम प्राथमिक हुनुपर्ने सुझाव थापालाई दिएको बताइएको छ ।
त्यस्तै काँग्रेसका नेता चन्द्र भण्डारीले पनि वर्तमान परिस्थितिमा नेतृत्वले राजीनामा दिनु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन् । उनले अहिले नैतिकताको नाममा पद छाड्नेभन्दा पनि पार्टीलाई जोगाउने र संगठनलाई पुनः सुदृढ बनाउने समय भएको बताउदै नेतृत्व भागेर होइन, समस्याको समाधान खोजेर संगठन बलियो बनाउनुपर्ने बताएका छन् ।
अर्कोतर्फ निर्वाचन परिणाम काँग्रेसका लागि ठूलो धक्का बनेको छ । प्रत्यक्षतर्फ १६५ सिटमध्ये काँग्रेसले जम्मा १८ सिट मात्रै जित्न सफल भएको छ भने समानुपातिकतर्फ १७ लाख मत प्राप्त गरेको छ । यस्तो परिणामले पार्टीभित्र गम्भीर समीक्षा र आत्ममूल्यांकनको आवश्यकता झन् बढाएको छ ।
यता पार्टीका पूर्व सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरूले भने सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममार्फत सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने दबाब दिन थालेका छन् । उनीहरूले चुनावी नतिजाको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने बताएकाछन् ।
तर थापा पक्षका नेताहरूले भने अहिलेको परिणामलाई मात्र वर्तमान नेतृत्वसँग जोडेर हेर्न नहुने तर्क गरेका छन् । उनीहरूका अनुसार पार्टीभित्र लामो समयदेखि रहेको गुटबन्दी, नीतिगत अस्पष्टता र संगठनात्मक कमजोरीहरूको प्रभाव अहिलेको परिणाममा देखिएको छ भने विशेष महाधिवेशन पछि आएको नेतृत्वले करिब एक सातामा उम्मेदवार छनौट देखि घोषणा पत्र बनाउने र चुनावमा होमिने काम गरेकाले समय नै नपुगेको विश्लेषण गरिएको छ । थापा नेतृत्वले धेरै समय नपाए पनि अन्तिम समयमा देशभर पार्टीलाई जनतामाझ मत माग्न सक्ने अवस्थामा पुर्याएको धेरैको विश्लेषण रहेको छ ।
यसैबीच, पूर्व सभापति शेरबहादुर देउवाको भूमिकालाई लिएर पनि पार्टीभित्र आलोचना र आरोपहरू सार्वजनिक हुन थालेका छन् । देउवा जस्तो परिपक्क नेता चुनावको महत्वपूर्ण समयमा सिंगापुरमा रहेको र मतदानसमेत गर्न नआएको विषय उठाउँदै अहिले भने सभापति थापाविरुद्ध आफ्ना समर्थक नेताहरूलाई सक्रिय बनाएको आरोप लगाएका छन् । उनीहरूका अनुसार चुनावको संवेदनशील समयमा पार्टी नेतृत्वसँगै रहेर रणनीति बनाउन देउवासहितका वरिष्ठ नेताहरू चुकेको देखिन्छ ।
विशेष महाधिवेशनको पक्षमा नरहेका नेताहरूले चुनावी अभियानमा देखाएको भूमिकामाथि पनि प्रश्न गर्ने प्रशस्त ठाउ छ । पार्टीभित्रका केही नेताहरूका अनुसार उम्मेदवार बनेका बाहेकका धेरै प्रभावशाली नेताहरू चुनावी अभियानमा सक्रिय देखिएनन् । देउवा पक्षका कैयौं नेताहरुले पार्टीका उम्मेदवारलाई हराउन अडियो सार्बजनिक हुन थालेको छ भने कैयौंलाई जिल्लाले कारवाहीको सिफारिस समेत गर्न थालेको छ ।
अर्कोतर्फ प्रकाशमान सिंह, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, शशांक कोइरालालगायत देउवा पक्षका केही वरिष्ठ नेताहरूले पार्टीको पक्षमा खुलेर मत माग्न नजाने र चुनावी प्रचारप्रसारमा सक्रिय नभएको देखिनुले उनीहरुको भूमिकामा पनि प्रश्न उठेको छ । केही विश्लेषकहरूका अनुसार यस्ता नेताहरूको निष्क्रियताले पनि पार्टीको समग्र चुनावी प्रदर्शनमा प्रभाव पारेको बताएका छन् ।
विश्लेषकहरूले काँग्रेसको अहिलेको संकट केवल चुनावी हार मात्र होइन, संगठनभित्रको गुटबन्दी, नेतृत्वबीचको अविश्वास र कार्यकर्ताबीचको निराशासँग पनि जोडिएको छ । अब चुनावको नतिजा समेत आएको अवस्थामा पार्टीले व्यापक आत्मसमीक्षा गर्दै संगठन सुधारको अभियान चलाउनु सहि निर्णय हुने सुझाव पनि दिइएको छ ।
धेरैले गगन थापाले राजीनामा दिने होइन काँग्रेसभित्र शुद्धीकरणको अभियान चलाउने, समयमा महाधिवेशन गर्न र विशेष महाधिवेशनमा पारित गरेको नीतिलाई कार्यान्वयनतर्फ लैजानुपर्ने सुझाव दिएका छन् । पार्टीका नीति र कार्यक्रमलाई स्पष्ट रूपमा जनतासम्म पुर्याउने, असन्तुष्ट नेता–कार्यकर्तालाई प्रशिक्षण दिएर पार्टीको लक्ष्य र उद्देश्यबारे स्पष्टता दिने तथा सामूहिक नेतृत्वको अभ्यासलाई तल्लो तहसम्म महसुस हुने गरी लागू गर्ने काम प्राथमिकतामा राख्नुपर्ने उनीहरूको सुझाव छ । यसका साथै पार्टी सञ्चालनमा पारदर्शिता बढाउने, प्रविधिको प्रयोग विस्तार गर्ने र संगठनलाई आधुनिक ढाँचामा रूपान्तरण गर्ने विषय पनि महत्वपूर्ण मानिएको छ ।
निष्कर्षमा, गगन थापाले अहिले राजीनामा दिनेभन्दा पनि पार्टी सुधार र पुनर्गठनमा ध्यान दिनु उपयुक्त हुने सुझाव धेरैको छ । नैतिक रुपमा जिम्मेवारी लिने विषय स्वाभाविक नै मान्न सकिन्छ तर कठिन समयमा नेतृत्व छोडेर पार्टीलाई अझ संकटतिर पठाउनु बुद्धिमानीपूर्ण निर्णय हुदैन । चुनावी हारको पीडाबाट बाहिर निस्केर संगठनलाई पुनः जीवन्त बनाउने, निर्वाचित सांसदहरूलाई प्रभावकारी रूपमा संसदमा एजेण्डा उठाउन सक्षम बनाउने र अन्य दलभन्दा फरक पहिचान बनाउन सक्ने रणनीति तयार गर्नु काँग्रेस नेतृत्वको अहिलेको मुख्य कार्यभार हुन्, राजीनामा दिने त हुनसक्दैन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-11
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
