काठमाडौँ । विभिन्न कम्युनिष्ट घटक र समूहहरूको जोडघटाउबाट निर्मित ‘नेपाली कम्युनिष्ट पार्टी (नेकपा)’ यतिबेला निर्वाचनको कडा परीक्षामा छ । एकताको ढोल पिटिए पनि जनस्तरमा यसको कुनै पत्यारिलो आधार देखिँएको छैन । नेतृत्वले ‘बहुमत’ ल्याउने दाबि गरिरहदा भुइँतहको वस्तुगत परिस्थिति भने निकै फरक देखिन्छ । सत्तामुखी दाउपेच र अस्तित्व रक्षाका लागि गरिएको यो एकताले आम मतदातामा भरोसा जगाउन सकेको छैन ।
नेकपाले आफ्नो स्वरूप बदलेको दाबी गरे पनि यसको भित्री संरचना र प्रवृत्तिमा कुनै तात्त्विक भिन्नता देखिँदैन । पार्टीले आफूलाई ‘परिवर्तित शक्ति’ को रूपमा प्रमाणित गर्न ठूलो संघर्ष गरिरहनु परेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले नेतृत्व गरिरहेको यो नयाँ भनिएको शक्तिलाई जनताले पुरानै ‘मदिरा’ नयाँ ‘बोतल’ मा राखेको रूपमा बुझेका छन् । नाम फेरेर केवल सत्ता र पदमा टिकिरहने प्रपञ्च रचिएको भन्ने भाष्य बलियो बन्दै जाँदा पार्टी गम्भीर पहिचान संकटमा फसेको छ । पुरानै कार्यशैली र उही अनुहारहरूको निरन्तरताले गर्दा यो शक्तिले नयाँपनको सन्देश दिन पूर्णतः असफल देखिएको छ ।
विगतका कयौँ निर्वाचनहरूमा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले ‘गठबन्धनको वैशाखी’ टेकेर आफ्नो साख जोगाउँदै आएका थिए । तर, यस पटकको निर्वाचन उनीहरूका लागि वैशाखी विनाको हिँडाइ जस्तै हुनेछ । एक्लै चुनावी मैदानमा उत्रिँदा उनीहरूको वास्तविक शक्तिको धरातल कति छ भन्ने कुरा यसै पटक प्रष्ट हुने देखिन्छ ।
आम रूपमा पार्टीको नाम मात्र फेरेको, पुरानै नेतृत्व कायम रहेको र उस्तै शैलीमा काम गरिरहेको कारण यो चुनावले प्रचण्ड र माधव नेपाललाई आफ्नो ऐना देखाइदिने विश्लेषण गरिएको छ ।
अर्कोतर्फ नेकपा यतिबेला राजनीतिक चक्रव्यूहमा फसेको जस्तो पनि देखिएको छ । एकातिर नेकपा एमाले रक्षात्मक देखिएको छ, तर उसको संगठन अझै पनि मजबुत छ । अर्कोतिर नयाँ र पुराना शक्तिहरूको उदयले नेकपालाई ‘रनभुल्ल’ मा पारेको महसुस गर्न सकिन्छ । नेकपाका लागि मुख्य चुनौती नयाँ पुस्ता र शहरी मतदातामाझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिर्जना गरेको लहरले खडा गरेको छ । त्यस्तै आन्तरिक रूपमा विशेष महाधिवेशन पछि नेतृत्व परिवर्तन गरेर नयाँ बनेको दाबि गर्दै चुनाव होमिएको नेपाली कांग्रेसको पक्षमा जनमत ढल्किँदा नेकपालाई आफ्नो सिट सुरक्षित गर्न सकस परेको छ । मुख्य प्रतिष्पर्धी एमाले रक्षात्मक हुँदा त्यसको फाइदा उठाउनु पर्नेमा संगठन र स्पष्ट जनादेशको अभावमा नेकपा आफैं दिशाहीन देखिएको छ ।
धेरै दल र समूहहरू एउटै छातामुनि आए पनि ती बीचमा ‘जनमतको एकता’ हुन सकेको छैन । नेतृत्व तहमा हात मिलाउँदैमा तल्लो तहका मतदाताहरू स्वतः गोलबन्द हुन्छन् भन्नु भ्रम मात्र हो । कतिपय क्षेत्रमा उम्मेदवारहरूको व्यक्तिगत लोकप्रियताका कारण केही सिट जित्ने सम्भावना रहे पनि, समग्र पार्टीको रूपमा नेकपाको मत परिणाम उत्साहजनक हुने देखिँदैन । बलियो संगठन र जनमतको अभावमा केवल केही व्यक्तिको प्रभावले मात्र पार्टीको राजनीतिक साख बचाउन असम्भव प्रायः छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का लागि यो निर्वाचन केवल हार-जितको विषय मात्र नभएर अस्तित्वको लडाइँ बन्ने देखिन्छ । अहिलेका राजनीतिका चतुर खेलाडी प्रचण्डले यो निर्वाचनमा सफलता पाउन वा आफ्नो साख जोगाउने प्रयास गरिरहेपनि अहिलेसम्म ठोस कदम चाल्न सकेको देखिदैन । अब मतदानको दिनसम्म उनले कस्तो भूमिका खेलेर पार्टी र आफ्नो साख जोगाउन कदम चाल्छन् त्यो हेर्न रोचक हुने छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-26
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
