रौतहट । गौर नगरपालिका–६ सबगढा गाउँमा देखिएको दुई समुदायबीचको विवादपछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सर्वपक्षीय बैठकले जिल्लाभर सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सार्वजनिक अपिल जारी गरेको छ ।
फागुन ७ गते राति करिब ९:४५ बजे सुरु भएको सामान्य विवाद समाधानका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यसपछि फागुन ८ गते दुवै पक्षका प्रतिनिधिबीच छलफल भई ६ बुँदे सहमति गरिएको थियो । तर फागुन ९ गते बिहानैदेखि अवस्था पुनः जटिल बन्दै गएपछि सम्भावित जनधनको क्षति रोक्न जिल्ला सुरक्षा समितिको निर्णयानुसार दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो ।
आइतबार बसेको सर्वपक्षीय बैठकले घटनाप्रति खेद व्यक्त गर्दै शान्तिपूर्ण वातावरण पुनःस्थापना गर्न सबै पक्षले संयमता अपनाउनुपर्ने निर्णय गरेको छ । बैठकले स्थानीय भद्रभलादमी तथा अगुवाहरूको उपस्थितिमा औपचारिक-अनौपचारिक संवादमार्फत समस्या समाधानको पहल अघि बढाउने जनाएको छ ।
त्यस्तै, सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय घटनालाई जिल्लासँग जोडेर भ्रामक प्रचारप्रसार गर्ने कार्यप्रति निगरानी बढाउने र आवश्यक परे कारबाहीका लागि सुरक्षा निकायलाई सहयोग गर्ने निर्णय पनि गरिएको छ । घटनामा संलग्न देखिएका व्यक्तिमाथि अनुसन्धान जारी रहेको र दोषी ठहरिए कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।
जिल्लाभर धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम राख्ने उद्देश्यले फागुन ११ गते बिहान ७: ३० बजे नागरिक समाजको अगुवाइमा सबगढामा सद्भाव र्याली आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले द्वन्द्वबाट हुने क्षति सबैको साझा क्षति हुने भएकाले आपसी सम्मान, सहिष्णुता, एकता र समझदारी कायम गर्दै शान्ति स्थापना गर्न सम्पूर्ण जिल्लावासीसँग हार्दिक अपिल गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-22
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
