काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभाव र विश्वव्यापी रोजगारी कटौतीबीच माइक्रोसफ्ट एआईका प्रमुख मुस्तफा सुलेमानले ठूला कार्यालयीन रोजगारी जोखिममा पर्ने चेतावनी दिएका छन् ।
उनका अनुसार आगामी १२ देखि १८ महिनाभित्र कम्प्युटरमा आधारित अधिकांश ह्वाइट-कलर रोजगारलाई एआईले विस्थापित गर्ने छन् । सुलेमानले यसको असर केवल सफ्टवेयर इन्जिनियरसम्म सीमित नरहने बताए । उनका अनुसार वकिल, लेखापाल, परियोजना व्यवस्थापक र बजार व्यवस्थापन क्षेत्रमा कार्यरत पेशाकर्मीसमेत प्रभावित हुनेछन् । उनले डेढ वर्षभित्र कम्प्युटरमा गरिने प्रायः सबै काम स्वचालित हुने दाबी गरे ।
आगामी दुई-तीन वर्षमा एआई एजेन्टहरूले ठूला संस्थानहरूको कामकाज अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने उनको भनाइ छ । समयसँगै यी प्रणाली आफैं अद्यावधिक हुँदै स्वतन्त्र निर्णय लिन सक्षम हुने उनले बताए । सुलेमानका अनुसार भविष्यमा एआई मोडेल तयार पार्नु सामान्य ब्लग लेखेझैँ सहज हुनेछ ।
यसैबीच माइक्रोसफ्टले बाह्य प्रविधिमा निर्भरता घटाउँदै आफ्नै शक्तिशाली आधारभूत एआई मोडेल विकास गरिरहेको जनाएको छ । कम्पनीले विश्वस्तरीय तालिम टोली परिचालन गरी विशाल तथ्याङ्क व्यवस्थापनमा ठूलो लगानी गरिरहेको छ । कम्पनीले चालु आर्थिक वर्षमा एआई पूर्वाधार निर्माणका लागि करिब १२ दशमलव ७ लाख करोड रुपैयाँ खर्च गर्ने अनुमान सार्वजनिक गरेको छ । यसै वर्ष आफ्नै आन्तरिक मोडेल सार्वजनिक गर्ने तयारीसमेत गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा पनि माइक्रोसफ्टले ‘मेडिकल सुपर इन्टेलिजेन्स’ प्रणाली विकास गरिरहेको छ, जसले अस्पतालमा कर्मचारी अभाव कम गर्न र बिरामीको लामो प्रतीक्षा समय घटाउन सहयोग गर्ने विश्वास गरिएको छ ।
एआईको प्रभावबारे विश्वव्यापी बहस तीव्र भइरहेका बेला यसले रोजगारी खोस्ने कि नयाँ अवसर सिर्जना गर्ने भन्ने प्रश्न अझै खुला र बहसमै रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-16
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
