सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण : गृहमन्त्री

काठमाडौँ, गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठन निर्माणका लागि रणनीतिक सम्मेलन अत्यन्त महत्त्वपूर्ण हुने बताउनुभएको छ।नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ को आज उद्घाटन गर्दै गृहमन्त्री अर्यालले पछिल्लो समय भएका जेन–जी प्रदर्शनका कारण भौतिक तथा मानसिक रूपमा कमजोर बनेका प्रहरीको मनोबल उच्च बनाउन यस्ता सम्मेलनले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले आम नागरिकको अपेक्षाअनुसार प्रहरी सङ्गठनलाई अझ प्रभावकारी बनाउन सम्मेलन उपयोगी हुने बताउनुभयो।गृहमन्त्री अर्यालले सम्मेलनबाट प्राप्त हुने राय तथा सुझावलाई कार्यान्वयन गर्न गृह मन्त्रालयको पूर्ण साथ र सहयोग रहने स्पष्ट गर्नुभयो।

साथै, प्रहरी व्यवस्थापन र परिचालनमा देखिएका समस्याबारे सम्मेलनमा गहन छलफल हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो।प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको प्रयोगसँगै पछिल्लो समय बढ्दै गएका विभिन्न खालका अपराध नियन्त्रणमा यस्ता सम्मेलन सहयोगी हुने बताउनुभयो। उहाँले परम्परागत अपराधसँगै सङ्गठित अपराध, साइबर अपराध तथा अन्तर्राष्ट्रिय अपराधका कारण समाज थप जटिल बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका उपायबारे सम्मेलनमा विस्तृत छलफल हुने जानकारी दिनुभयो।

समाजमा हुने अपराध नियन्त्रणका लागि विषयविज्ञको राय र सुझाव संकलन गर्न सम्मेलन आयोजना गरिएको प्रहरी महानिरीक्षक कार्कीको भनाइ छ।प्रहरी प्रधान कार्यालयका अनुसार दुई दिनसम्म चल्ने यस सम्मेलनमा समाजमा देखिने विभिन्न किसिमका अपराध र त्यसको नियन्त्रणका लागि अपनाउनुपर्ने रणनीतिबारे छलफल हुनेछ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-02-08