काठमाडौं, सरकारले आजदेखि देशभर कक्षा ६ मा अध्ययनरत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सुरु गरेको छ।स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार माघ २५ गतेदेखि फागुन १५ गतेसम्म देशभर कक्षा ६ मा पढ्ने किशोरी तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाइनेछ।अभियानका क्रममा गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप लगाइने शाखाले जनाएको छ।
हिमाली तथा हिउँ पर्ने जिल्लामा भने उक्त अभियान चैत महिनामा सञ्चालन गरिनेछ।पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण भएकाले यसको रोकथामका लागि एचपिभी खोप प्रभावकारी मानिन्छ। कक्षा ६ मा अध्ययनरत किशोरीलाई विद्यालयमै र अन्य किशोरीलाई खोप केन्द्रमार्फत खोप लगाइने व्यवस्था गरिएको छ।खोप शाखाका प्रमुख डा. अभियान गौतमले एचपिभी खोप शतप्रतिशत प्रभावकारी रहेको बताउँदै सबै लक्षित किशोरीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गर्नुभएको छ।
उहाँका अनुसार नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र चार जनाको मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ।गत वर्ष सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको अभियानमा कक्षा ६ देखि १० सम्मका तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई एचपिभी खोप लगाइएको थियो।
यस वर्षको २० दिने अभियानमा करिब तीन लाख ५० हजार किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ।नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरका कारण महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको स्वास्थ्य तथ्याङ्कले देखाउँछ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-08
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
