म्याग्दीमा महावीर पुनलाई किन जिताउनुपर्छ ?
  • चिम्खोले काईला/बेलायत

प्रस्तावना: प्रकृतिको वरदान र वीरहरूको भूमि म्याग्दीमा आगामी फागुन २१ गते हुने उपनिर्वाचनले राष्ट्रिय राजनीतिको ध्यान खिचेको छ । निर्वाचन आयोगको सूचना अनुसार म्याग्दीको चुनावी मैदानमा १३ जना उम्मेदवारहरूले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । यी १३ अनुहारमध्ये कसको भाग्य चम्किने हो, त्यसको फैसला फागुन २१ को मतपरिणामले गर्ने नै छ । तर, यसपटक म्याग्दीको चुनाव केवल एक जिल्लाको प्रतिनिधिका लागि मात्र नभएर नेपालको राजनीतिमा ‘नयाँ र पुराना’ शक्तिबीचको द्वन्द्व र ’बौद्धिकता कि दलगत दासता’ भन्ने बहसको केन्द्र बनेको छ ।

चुनावी समीकरण र उम्मेदवारहरूको लस्कर : निर्वाचनका लागि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष तथा निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले स्वतन्त्र उम्मेदवारी दिएपछि चुनावी सरगर्मीले नयाँ उचाइ लिएको छ । पुनसँगै स्वतन्त्रबाट नवीन जिसीले पनि मैदानमा उत्रिने आँट गरेका छन् ।

दलगत रूपमा नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारीले पुरानो विरासत जोगाउने कसरत गरिरहेका छन्। त्यस्तै, नेकपाबाट अर्जुनबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट युवराज रोकामगर, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे, राप्रपाबाट डम्बरबहादुर सुवेदी मैदानमा छन् । साना दलहरूको तर्फबाट श्रम संस्कृति पार्टीका विनोद राना, मङ्गोल नेशनल अर्गनाइजेसनका भीमबहादुर लामा, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी र नेशनल रिपब्लिक नेपाल पार्टीका तुलप्रसाद गर्बुजाले पनि आफ्नो बलियो उपस्थितिको दाबी गरेका छन् ।

पुरानो विरासतको पर्खाल र ‘जेन्जी’ लहरः म्याग्दीको राजनीतिक इतिहासलाई फर्केर हेर्दा वि.सं. २०४६ पछि यहाँ नेकपा (एमाले) र नेपाली कांग्रेसकै बलियो पकड रहँदै आएको छ। यी दुई दलको सङ्गठन गाउँ–गाउँको पिँधसम्म पुगेको छ । अपवादका रूपमा माओवादीले कहिलेकाहीँ हस्तक्षेप गरे पनि मुख्य सत्ताको साँचो एमाले र कांग्रेसकै वरिपरि घुमिरहेको यथार्थलाई नकार्न सकिँदैन ।

एउटा गम्भीर विश्लेषण के हो भने, ’जेन्जी’ (नयाँ पुस्ता)को आन्दोलनले देशभरि सत्ता परिवर्तनको लहर ल्याए पनि म्याग्दीका कतिपय मतदाताहरू अझै पनि दलीय ’रासनपानी र दानापानी’को प्रभावमा छन् । लामो समयदेखि दलको झन्डा बोकेका र दलबाटै लाभ लिएका कार्यकर्ताहरूलाई एकाएक स्वतन्त्रताको पक्षमा उभाउनु त्यति सहज काम भने होइन । तर, समय सधैँ एकैनास रहँदैन ।

डा. महावीर पुनः म्याग्दीको आशा र देशको गौरव मैदानमा १३ जना योद्धा भए पनि डा. महावीर पुनको उम्मेदवारीले म्याग्दीको साख अन्तर्राष्ट्रिय जगतमा समेत बढाएको छ। उनी केवल एक उम्मेदवार मात्र होइनन्, उनी एक विचार र कर्मयोगी पात्र हुन् । म्याग्दीका आम जनताले यसपटक दलगत घेराभन्दा माथि उठेर डा. पुनलाई किन जिताउनुपर्छ ? यसका केही ठोस आधारहरू छन् ।

१. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचानः एसियाकै नोबेल पुरस्कार मानिने ‘रोमन म्यागासेसे’ पुरस्कार विजेता पुनको पहिचान नेपालमा मात्र सीमित छैन । उनलाई विश्वले एउटा दूरदर्शी वैज्ञानिक र परोपकारी व्यक्तित्वका रूपमा चिन्दछ। यस्तो व्यक्तित्वले म्याग्दीको प्रतिनिधित्व गर्नु जिल्लाकै लागि गौरवको विषय हो ।

२. शिक्षा र अनुभवको सङ्गमः उमेरले परिपक्व र उच्च शिक्षित डा. पुनसँग समाजसेवाको लामो अनुभव मात्र छैन, उनले मन्त्रालयको कार्यभार समेत सम्हालिसकेका छन्। शिक्षा र प्रविधिको क्षेत्रमा उनले राखेको दृष्टिकोण आजको डिजिटल युगमा नेपालका लागि अपरिहार्य छ ।

३. मन्त्रिमण्डलमा नेतृत्वको सम्भावनाः उनको क्षमता र उचाइलाई हेर्दा चुनाव जितेपछि उनी मन्त्रिमण्डलमा सामेल हुने प्रबल सम्भावना रहन्छ। उनले मन्त्रीका रूपमा काम गर्दा म्याग्दीले विकासको मूलधारमा प्रत्यक्ष फाइदा लिन सक्नेछ ।

४. नीति निर्माणमा सबल पक्षः संसद् भनेको केवल बाटो र पुल माग्ने ठाउँ मात्र होइन, यो देशको भाग्य कोर्ने नीति बनाउने ठाउँ हो। महावीर पुन जस्तो बौद्धिक व्यक्तिले देशको समग्र आमूल परिवर्तनका लागि व्यावहारिक र वैज्ञानिक नीतिहरू बनाउन सक्छन् ।

५. अन्तिम मौका र नैतिक दबाबः उमेर र स्वास्थ्यको हिसाबले पनि महावीर पुनका लागि सक्रिय राजनीतिमा लागेर देश सेवा गर्ने यो सायद अन्तिम मौका हुन सक्छ। म्याग्देली जनताका लागि यो एउटा यस्तो अवसर हो, जसलाई गुमाउँदा भविष्यमा पछुताउनु पर्ने हुन सक्छ ।

चुनौती र सम्भावनाको दोसाँध नयाँ उम्मेदवार र स्वतन्त्र लहरका बाबजुद एमाले र कांग्रेसका उम्मेदवारहरू ’भोट बैंक’ को सुरक्षामा लागिरहेका छन्। उनीहरूका लागि यो अस्तित्वको लडाइँ हो । तर, म्याग्दीका युवाहरू जो विदेशमा छन् र जसले देशमा परिवर्तन चाहेका छन्, उनीहरूको प्रभाव यसपटक घर–गाउँमा प्रत्यक्ष देखिन्छ। जनताले अब आश्वासनको पुल होइन, ठोस परिणाम खोजिरहेका छन्। डा. महावीर पुनले अविष्कार केन्द्रमार्फत देखाएको ’गरेर देखाउने’ कार्यशैली नै उनको मुख्य चुनावी अस्त्र हो ।

निष्कर्ष ः म्याग्दीको यो उपनिर्वाचन केवल एक जनप्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यो म्याग्देली जनताको चेतनाको परीक्षा पनि हो। लामो समयदेखि दलीय भागबन्डा र सत्ताको दाउपेचले थलिएको म्याग्दीलाई अहिले एक यस्तो साहसी, निष्कलङ्क र बौद्धिक पाइलटको खाँचो छ, जसले जिल्लालाई समृद्धिको उचाइमा पु¥याउन सकोस् ।

डा. महावीर पुनको नाम नै आफैँमा एउटा ठूलो सन्देश हो। १३ जना उम्मेदवार सबैले आफूलाई योग्य दाबी गरे तापनि, तुलनात्मक रूपमा पुनको उचाइ र उनको निःस्वार्थ सेवाभावले उनलाई अन्यभन्दा धेरै अगाडि उभ्याएको छ। यदि म्याग्देली जनताले यसपटक दलीय सङ्कुचित घेरा तोडेर महावीर पुनलाई विजयी गराउने हो भने, यसले नेपालको राजनीतिमा नयाँ युगको सुरुवात गर्नेछ ।

फागुन २१ को मतपरिणामले केवल एउटा विजेता घोषणा गर्ने छैन, बरु म्याग्दीले विकास र विवेकको पक्षमा कति साहसी निर्णय लिन सक्छ भन्ने कुरा विश्वलाई देखाउनेछ। अन्य उम्मेदवारहरुलाई हार्दिक नमन गर्दै भविष्यमा मेरो हजुरहरुलाई साथ सहयोग रहने वाचा गर्दै विदा हुन चाहन्छु । जय म्याग्दी, जय नेपाल !

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-02-05