नेपाल मानव धर्म सेवा समितिद्वारा देशभरका ४३ विद्यालयमा शैक्षिक सामग्री वितरण

काठमाडौैं । नेपाल मानव धर्म सेवा समितिले देशभरका ४३ विद्यालयका झण्डै चार हजार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

अन्तर्राष्ट्रिय युवा आध्यात्मिक व्यक्तित्व श्री विभुजी महाराजको पावन जन्मोत्सको अवसर पारेर समितिले तीन हजार आठ सय ४७ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

२०८२ माघ ५ देखि १२ गतेसम्म सञ्चालित सप्ताहव्यापी शैक्षिक सामग्री वितरण कार्यक्रमम समितिका देशभरीका क्षेत्र तथा शाखा आश्रमहरूले कपी, कलम, स्कुल व्याग, स्वेटरलगायत शैक्षिक सामग्री वितरण गरेका हुन् ।

शहरी क्षेत्रसँगै जोडिएका ग्रामीण भेगका सामुदायिक विद्यालयका विद्यार्थीहरूको अवस्था निकै नै नाजुक भएको र कपी कलमको अभावमा बालबालिकाहरूले पढ्न पाउने अधिकारबाट बन्चित हुनु नपरोस् भनि शैक्षिक सामग्री वितरण अभियान सञ्चालन गरिएको संस्थाकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले बताइन् ।

उनका अनुसार काठमाडौं उपत्यकाभित्रै पनि विकट स्थान रहेको र त्यहाँका सामुदायिक विद्यालयका विद्यार्थी वर्षभरी पुग्नेगरी कपी, कलम किन्न सक्ने अवस्थाका छैनन् । ललितपुर जिल्लाकै गोटिखेल, चन्दनपुरलगायतका स्थानमा पुग्दा कुनै विकट जिल्लामा पुगेको भान हुने उनको भनाइ छ ।

उनी भन्छन्, ‘देशका विभिन्न दुर्गम स्थानमा गई कापी, कलम, स्कुल व्याग, स्वेटर बाड्दा उनीहरूको मुहारमा छाएको खुसीले मरो अन्तर हृदय नै प्रफुल्लित भएको छ । फेरि पनि उनीहरूका लागि सामग्री लिएर जाने ईच्छा जागेको छ ।’


केन्द्र प्रमुख महात्मा चमेली वाईजीलाई मात्र होइन प्रचार समितिकी सचिव महात्मा लता वाईजीलाई पनि सबै विद्यार्थीहरूको मुहारमा हाँसो हेर्ने रहर छ । शैक्षिक सामग्री बोकेर कहिले सिन्धुपाल्चोकको हेलम्बु त कहिले नुवाकोटको देवीघाट पुग्नुभएकी महात्मा लता वाईजीका अनुसार संस्थाले सम्पन्न विद्यार्थी र विपन्न विद्यार्थीका विच पुलका काम गरिरहेको छ ।

दुर्गम र आर्थिक अभावका मारमा पारेका बालबालिकाहरूलाई शैक्षिक सामग्री संकलनका लागि संस्थाले शहरी क्षेत्रका निजी विद्यालयहरूमा बक्स राख्ने गर्छ । निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफूले सकेको कपी, पेन, पेनसिल, इरेजर, कटर बक्समा हाल्ने गर्छन् ।

उनीहरूबाट संकलित सामग्री लिएर संस्थाका युवाहरू सरकारी विद्यालय जान्छन् र आवश्यक परेकाहरूलाई बाँडेर आउँछन् । महात्मा लता वाईजीका अनुसार तीन चार महिना पुग्ने शैक्षिक सामग्रीले पनि अभिभावकहरूलाई थेरै भए पनि राहत हुने गरेको छ ।

आध्यात्मिक तथा सामाजिक कार्य गर्दै आएको संस्थाले शिक्षा अभियानलाई वर्षमा एक पटक मात्र होइन, सधैँभरी गर्दै आएको युवा संगठनका केन्द्रीय संयोजक राजिव पौडेल बताउँछन् । पौडेल भन्छन्, ‘सानो सहयोगले पनि ठूलो परिवर्तन सम्भव हुने रहेछ भन्ने विश्वास पलाएको छ ।’

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-02-01