काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।
आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ ।
त्यसैगरी, उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको आयोगले प्रष्ट पारेको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रको हकमा भने सानो मतपत्र रहने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा उम्मेदवार पनि बढी भएकाले मतपत्रको आकार ठूलो हुनेछ ।
आयोगका अनुसार कर्णाली प्रदेशको सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र रहेको छ । ती जिल्लाको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेको छ । ती सबै निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ ।
अन्य जिल्लाका पनि वास्तविक मतपत्र क्रमशः सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ सम्पन्न भइसकेको जनाएको छ ।
त्यसैगरी, आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको नमूना मतपत्र तयार पारेर निर्वाचन सचेतनाको कार्यक्रम पनि अगाडि बढाएको छ । मतदाता सचेतना कार्यक्रमका लागि तयार पारिएको नमूना मतपत्र विभिन्न मतदान केन्द्र मातहत पुर्याउने काम पनि अगाडि बढेको आयोगले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-31
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
