प्रथम काठमाडौं विजनेश एक्स्पो-२०२६ मा जे देखियो…

काठमाडौं । भृकुटीमण्डमा पहिलो पटक आयोजना भएको ‘काठमाण्डु विजनेश एक्स्पो–२०२६’ निक्कै स्मरणीय रह्यो । कारण, एक्स्पो व्यापार प्रवद्र्धनका लागि मात्र सिमित थिएन, मनोरञ्जन क्षेत्रलाई पनि स्थान दिइएको थियो । जसले गर्दा पहिलो काठमाडौं विजनेश एक्स्पो’ व्यापारसँगै कला र संस्कृतिको पनि उत्सव बन्यो ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको मुख्य आयोजना रहेको एक्स्पोमा नेपालका ख्याती प्राप्त कलाकारहरुले प्रस्तुती दिए । एक्स्पो आज शनिबार सम्पन्न हुँदैछ । माघ १४ गतेदेखि १७ गतेसम्म चलेको ‘काठमाडौं विजनेश एक्सपो–२०२६’मा युवा पुस्ताको चर्चित सांगीतिक समूह ‘विनय कार्की एण्ड थुंगा’को प्रस्तुतीले एक्स्पो अवलोकनकर्ताको मन जित्न सफल भएको थियो । त्यसो त विनय कार्कीले आफ्नो हरेक गीतमार्फत दर्शकको मन जित्दै आएका हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा ‘विनय केटु’ उपनामले चर्चित विनय कार्कीले जब ‘विनय कार्की एण्ड थुंगा’ समूह बनाए, त्यसपछि झनै उचाई लिए । यो सांगीतिक समूहको पहिलो गीत ‘नयाँ नयाँ’ बोलको हो, जुन गीत दर्शक तथा श्रोताले एकदमै रुचाएका थिए । सांगीतिक क्षेत्रमा बेग्लै पहिचान बनाएको यो समूहको प्रस्तुतीले पनि ‘काठमाडौं विजनेश एक्स्पो’ सम्झिन लायक बन्यो ।

साथै, एक्स्पोमा पुर्वेली एवं आधुनिक गीतका लागि चर्चित गायक भीम लिम्बू लगायतका कलाकारहरुले प्रस्तुती दिएका थिए । ‘धानै नाचिन्छ’ जस्ता चर्चित गीतका गायक भीम लिम्बूका अलावा विभिन्न गायक तथा गायिकाहरुले विजवेश एक्स्पोमा गाएर माहोल तताएका थिए । महोत्सवमा विशेषगरी व्यापारसँगै कला र संस्कृतिको पनि प्रवद्र्धन गरिएको थियो । त्यसैले पनि यो विजनेश एक्स्पो स्मरणीय बन्यो ।

आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंले ‘महोत्सवमार्फत निजि क्षेत्रको मनोवल उकास्ने प्रयास गरिएको जनाएको छ । महासंघले आफ्ुनो पहिलो प्रयासमा सफलता हासिल गरेको पनि जनाएको छ । यो महोत्सव सफल बनाउका लागि थुप्रै व्यापारिक संघ संस्थाहरुले सहकार्य गरेका थिए ।

काठमाडौं महानगरपालिकाको समेत सहकार्य रहेको यस एक्स्पोको सह संयोजक आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले गरेका थिए । उनका अनुसार महोत्सवमा आनन्द कार्कीदेखि दिपक लिम्बूसम्मले गायन प्रस्तुती दिएका थिए । जसका कारण विजनेश एक्स्पो व्यापारसँगै कला र संस्कृतिको उत्सव बनेको महोत्सवका सहसंयोजक शेर्पाले विश्लेषण गरे । उनले भने, ‘आईआईएफटीको समेत सहकार्य रहेको काठमाडौं विजनेश एक्स्पो–२०२६ सोचेभन्दा राम्रो भयो । हामी सफल भयौँ ।’

व्यापारी,उद्योगी र कलाकारहरुको जमघट रहेको एक्स्पोको उद्घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगालले गरेकी थिइन् ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-01-31