काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक अर्घाखाँची पनि रहेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची चुनावको बेला सधै चर्चामा रहने गर्दछ ।
भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टोपबहादुर रायमाझी बिना यस पटकको निर्वाचनमा अर्घाखाँचीले नयाँ नेता बनाउने तयारीमा छ । यस कारणपनि अर्घाखाँची यस चुनावमा विशेष चर्चामा रहेको छ ।
अर्घाखाँचीमा ६ पालिका रहेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा १२ वडा, शीतगंगा नगरपालिकामा १४ वडा, भूमिका स्थान नगरपालिकामा १० वडा रहेका छन् । त्यस्तै छत्रदेव गाउँपालिकामा ८ वडा, पाणिनी गाउँपालिकामा ८ वडा र मालारानी गाउँपालिकामा ९ वटा वडा रहेका छन् ।
निर्वाचन आयोगका अनुसार अर्घाखाँचीमा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ७१ हजार ६५२ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा २०९ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९
२०७९ को निर्वाचनमा अर्घाखाँचीबाट नेकपा एमालेका टोपबहादुर रायमाझी विजयी भएक थिए । रायमाझीले ४२ हजार ६७५ मत प्राप्त गरेका थिए । त्यस्तै दोस्रो स्थानमा रहेकी नेपाली काँग्रेसकी पुष्पा भुसालले ४० हजार ९४५ मत प्राप्त गरेकी थिइन् । त्यस्तै रास्वपाका हरि प्रसाद भुसालले ३२ सय मत प्राप्त गरेका थिए ।
त्यसैगरी २०७९ को समानुपतितर्फ एमालेले ३७ हजार ४५० मत प्राप्त गरेको थियो भने काँग्रेसले २६ हजार ८६५ मत पाएको थियो । त्यसैगरी रास्वपाले८ हजार ९५१ मत प्राप्त गरेको थियो भने तत्कालिन माओवादी केन्द्रले ७ हजार ३४२ मत प्राप्त गरेको थियो । त्यस्तै राष्ट्रिय जनमोर्चाले ५ हजार ३२७ मत पाएको थियो ।
२०४८ र २०५१ सालको निर्वाचनमा अर्घाखाँचीबाट काँग्रेसका रेवती भुसाल विजयी भएका थिए भने २०५६ को निर्वाचनमा जनमोर्चाका डिलाराम आचार्य विजयी भएका थिए । त्यसपछि टोपबहादुर रायमाझी २०६४, २०७० र २०७४ मा तत्कालिन माओवादीबाट विजयी भए भने २०७९ मा नेकपा एमालेबाट विजयी भएका थिए ।
उम्मेदवार-२०८२
२०६४ देखि लगातार निर्वाचित आएका टोपबहादुर रायमाझी जेल परेपछि अर्घाखाँची जनप्रतिनिधिविहिन बन्न पुगेको थियो । अब भने निर्वाचनमार्फत अर्घाखाँचीले नयाँ जनप्रतिनिधि चुन्ने क्रममा रहेको छ । जेलपरे पनि रायमाझी अर्घाखाँचीमा अहिले पनि लोकप्रिय नेता मानिन्छन् । अब यस निर्वाचनमा दल र स्वतन्त्र गरि कुल १५ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यस पटक एमालेले पिताम्बर भुसाललाई उम्मेदवार बनाएको छ । त्यस्तै नेपाली काँग्रेसले भने अन्तिम पटक २०५१ मा जितेको अर्घाखाँचीमा यस पटक विष्णु प्रसाद खनाल मुस्कानलाई उम्मेदवार बनाएको छ । त्यस्तै रास्वपाले जिल्ला अध्यक्ष हरि प्रसाद भुसाललाई उम्मेदवार बनाएको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले रामबहादुर चौहानलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय जनमोर्चाले पशुपति नाथ ढकाललाई उम्मेदवार बनाएको छ ।
निष्कर्ष
अर्घाखाँचीमा २०६४ पछि पहिलो पटक टोपबहादुर रायमाझी बिना निर्वाचन हुदैछ । यस अर्थमा अब अर्घाखाँचीले जिल्लाको नयाँ निर्वाचित नेता चयन गर्दैछ । जिल्लामा विकास निर्माणका फाइल बोकेर धेरैजसो सिंहदरबार आसपास भेटिने रायमाझी भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेकाले उनी चुनावी प्रक्रियामा सामेल हुन पाएनन् । यस पटक अर्घाखाँचीमा कुन दलले जित्छ भनेर अनुमान गर्ने वातावरण देखिदैन । जिल्लाको चुनावी परिणामलाई व्यक्ति र स-साना दलले पनि विगतमा प्रभाव पार्ने गरेको इतिहास छ ।
यस पटक चुनावी मैदानमा एमाले- काँग्रेसले नयाँ उम्मेदवार बनाएकाले उनीहरुले जनताको विश्वास जित्न र मतदाताले पनि उनीहरुलाई मत दिने विषयमा निर्णय गर्न समय लिएको बुझ्न सकिन्छ । त्यस्तै देशभर आएको रास्वपाको लहरले पनि अर्घाखाँचीमा पनि धेरै हदसम्म चुनाव प्रभावित हुने देखिन्छ । खासगरी युवा पुस्तामा देखिएको परिवर्तनको लहर अर्घाखाँचीमा पनि देखिएको छ । त्यस्तै विशेष महाधिवेशनको पक्षमा लगभग जिल्लाका सबै कार्यकर्ता देखिएको अर्घाखाँचीमा काँग्रेसका कार्यकर्तामा विशेष उत्साह रहेको छ । अर्कोतर्फ एमाले भने आफुले विगतमा पाउदै आएका मत जोगाउन सकेमात्र पनि चुनाव जित्ने आँकलनमा रहेको छ ।
अर्घाखाँचीको संसदीय निर्वाचनमा सबैभन्दा ठुलो भूमिका राष्ट्रिय जनमोर्चाको मतले खेल्ने गरेको छ । गत निर्वाचनमा समानुपातिकमा जनमोर्चाले ५३ सय मत प्राप्त गरेको थियो । प्रत्यक्षमा यस पटक उम्मेदवार रहेपनि जित्ने सम्भावना नरहेकाले प्रत्यक्षतर्फका मत काँग्रेस-एमाले र रास्वपाका उम्मेदवारलाई जान सक्ने स्थानीयहरुले विश्लेषण गरेका छन् । र तिनै दलका उम्मेदवारको नजर पनि ति मतमा रहेको छ । समग्रमा बिना गठबन्धन हुन लागेको यस निर्वाचनमा रास्वपाको बढ्दो क्रेज, पुनर्जीवन पाएको काँग्रेस र मत जोगाउन संघर्ष गरिरहेको एमालेबीच प्रतिष्पर्धा हुनसक्ने अनुमान गर्न सकिन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-30
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
