काठमाडौं । गायिका तथा गीतकार अनिला राई यतिखेर नेपालमा छिन् । बेलायतलाई कर्मथलो बनाउँदै आएकी अनिला क्रिसमस विदाको मौका छोपेर नेपाल आएकी हुन् । यसै अवसरमा अनिलाले एक म्युजिक भिडियो सार्वजनिक गर्नुका साथै चार वटा गीत रेकर्ड गरेकी छन् ।
एक महिने विदामा नेपाल आएकी अनिलाले यस पटक ‘युद्धभूमि’ बोल गीतको भिडियो ल्याएकी हुन् । गायिका अनिलाकै शब्द र शान्तिराम राईको संगीत रहेको ‘युद्धभूमि’ गीतको भिडियोमा अनिलासँगै नन्दराज प्रोचा राई फिचरिङ छन् । यो गीत लाहूरेको जीवन गाथा र पारिवारिक प्रेममा आधारित रहेर तयार गरिएको छ ।
यसैबीच अनिलाले यस पटक आफ्नै शब्द र युवा संगीतकार पवन बान्तवा राईको संगीतमा चार वटा गीत रेर्कडिङ गरेकी छन् । अनिलाले ‘तिमी मेरो साथी’, ‘हे भगवान’, ‘मेरो जीवन’ र ‘बाँसको भाटा’ बोलको गीत गाएकी हुन् । अनिलाले यसपटक आफ्नो धारभन्दा केही फरकशैलीका गीत गाएकी छन् । ‘बाँसको भाटा’ बोलको गीत भने लोकगीत हो ।
विगत दुई दशकदेखि बेलायत बस्दै आएकी अनिलाले हालसम्म एक सयभन्दा बढी गीत गाइसकेकी छन् । उनी भन्छिन्, ‘म जहाँ रहेपनि मेरो मन मुटुमा नेपाल र नेपाली गीतसंगीतमा प्रगाढ लगाव छ । त्यसैले नेपाल आएको बेला गीत र भिडियो निर्माण गर्ने गरेकी छु ।’ बेलायतमा समेत विभिन्न सांगीतिक कार्यक्रमहरुमा सक्रिय रहँदै आएकी अनिला विभिन्न सामाजिक संस्थाहरुमा पनि आवद्ध छिन् ।
यसैबीच करिब ढेड दशकको अन्तरालमा अनिलाले आफ्नो गाउँ टेकेकी छन् अर्थात १६ वर्षपछि उनी यस पटक सोलु पुगेर गाउँघरको अनुभव गरेकी छन् । १६ वर्षपछि गाउँ पुग्दा रमाइलो अनुभव लागेको बताउँदै त्यहाँको विकास हेर्दा आफू चकित भएको सुनाइन् ।
‘गाउँघर त पुरै विकास भएछ । मैले गाउँ छाड्दा सडक थिएन, बित्ती थिएन । अहिले गाउँघरमा चिल्लो सडक र झिलिमिलि भएको रहेछ’ उनले भनिन्, ‘यति मात्र नभएर गाउँघरको अग्र्यानिक खाना हराउँदै गएछ । त्यहाँ मान्छेहरु लोकल खान छाडेर कोक र वियर खाने रहेछन् ।’ उनले मान्छेहरु ढिँडो खाने र चामलको भात सुँगुरलाई खुवाउने गरेको देख्दा आफू अचम्म परेको सुनाइन् । ‘विकाससँगै गाउँघरको जीवनशैली परिवर्तन भएको देख्दा खुसी लाग्यो’ गायिका अनिलाले भनिन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-06
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
