काठमाडौँ । नेपाली फिल्म र कन्टेन्टको रोचक समीक्षा गरेर दर्शकमाझ बिटी कान्छाको उपनामले परिचित विश्वास तिम्सिनाको लेखन तथा निर्देशनमा बनेको वेब सिरिज ‘हरामी’ भिडिओ प्लेटफर्म युट्युबमा साप्ताहिक रूपमा प्रसारण भइरहेको छ । पाँच भागमा निर्माण गरिएको यो सिरिज हरेक शुक्रबार सार्वजनिक हुँदै आएको छ, जसको प्रत्येक भागको अवधि करिब २५ मिनेट रहेको छ ।
नेपालमा युट्युब प्लेटफर्ममा प्रायः छोरी–चेलीका दुःखका कथामा आधारित सिरिजहरू बढी देखिँदै आएका बेला बिटी कान्छाले भने युवा दर्शकलाई लक्षित गर्दै फरक स्वादको कन्टेन्ट प्रस्तुत गरेका छन् । ‘हरामी’ सिरिजले घरेलु दर्शकभन्दा बाहिर निस्कँदै युवा पुस्ताको जीवनशैली, सोच र सम्बन्धलाई केन्द्रमा राखेको छ ।
हालसम्म प्रसारण भएका भागहरूले सकारात्मक प्रतिक्रिया पाइरहेको बिटी कान्छा बताउँछन् । उनका अनुसार पहिलो भागभन्दा दोस्रो र तेस्रो भागमा प्रतिक्रिया अझ राम्रो आएको छ । सिरिजको कथा एउटा फ्ल्याटमा बस्ने तीन जना युवाको जीवन वरिपरि घुम्छ, जहाँ प्रेम, करिअर र सम्बन्धका विविध आयामहरू प्रस्तुत गरिएको छ। प्रत्येक भागमा फरक विषयवस्तुलाई समेट्ने प्रयास गरिएको छ ।
‘हरामी’ निर्माणको प्रेरणाबारे बताउँदै बिटी कान्छाले सिरिजका एक पात्र निकुन श्रेष्ठको जीवनबाट आइडिया आएको खुलासा गरेका छन् । कालिम्पोङबाट नेपाल आउँदा निकुनको घरमा बसेका बिटीले उनका बुबा–आमा अमेरिका रहेका कारण उनी एक्लै बस्दै रुचि मिल्ने साथीहरूसँग निस्फिक्री जीवन बिताइरहेको देखेपछि त्यसैबाट सिरिजको आधार तयार भएको बताए ।
‘फ्ल्याटमा बस्ने आइडिया निकुनकैमा बस्दा आएको हो । हरि र मिलन पात्रमा भने मेरा भारतका साथीहरूको आत्मा हालेको छु’, उनले भने, ‘तीन पात्रको जीवनमा आउने साना मोडहरूलाई कथानकको रूपमा प्रस्तुत गर्ने प्रयास हो ।’
बिटी कान्छाले आफू भारतीय युट्युब च्यानल टीभीएफ र डाइस मिडियाका कन्टेन्टबाट प्रभावित भएकाले नेपालमा पनि यस्तै युवा केन्द्रित कन्टेन्ट ल्याउने सोचबाट ‘हरामी’ जन्मिएको बताए । सिरिजका पात्रमध्ये एक निकुन श्रेष्ठ स्वयं पनि यस योजनामा सुरुदेखि नै संलग्न थिए । उनका अनुसार ‘हरामी’ बनाउने सोच सन् २०२० देखि नै थियो ।
मन प्रडक्सनसँग आबद्ध निकुन कार्यकारी निर्माता समेत हुन् । कोभिडका कारण ढिलाइ भए पनि सन् २०२५ मा आएर योजना मूर्त रूप लिन सफल भएको उनले बताए ।
‘कोभिडको समयमा नै युवा केन्द्रित सिरिज बनाउने योजना थियो, तर पछि कम्पनी फिल्म निर्माणतर्फ सक्रिय भयो’, निकुन भन्छन्, ‘बीचमा बिटीसँग भेट भएपछि ‘हरामी’ अहिलेको स्वरूपमा तयार भयो ।’ उनले सिरिजको सुरुवातदेखि नै सफल केसी र प्रतीक गुरुङ पनि जोडिएको जानकारी दिए । यी दुवै फिल्म ‘हरि’ का लेखक तथा निर्देशक हुन् ।
निकुन सिरिजमा कलाकार र निर्माता दुवै भूमिकामा देखिएका छन् । दुवै जिम्मेवारी सम्हाल्न गाह्रो भए पनि कास्ट र क्रुबाट राम्रो सहयोग पाएको अनुभव उनले सुनाए । हरेक भागमा सेलेब्रिटी गेस्ट कलाकारको उपस्थिति र सहज सुटिङ वातावरणलाई उनले विशेष अनुभवका रूपमा उल्लेख गरे ।
अहिलेसम्म सिरिजमा आना शर्मा र आयुष्मान देशराज जोशी अतिथि कलाकारका रूपमा देखिएका छन् । चौथो र पाँचौँ भागमा पनि सेलेब्रिटी कलाकारको उपस्थिति रहने निर्माण पक्षले जनाएको छ ।
सिरिजका नियमित कलाकारमा निकुन श्रेष्ठसँगै ऋषिकेश बस्याल, शशांक बोहरा, रक्षा थापा र गौमाया गुरुङ रहेका छन् । निर्माण कम्पनीले सिरिजको पाँचौँ भाग विशेष कार्यक्रमसहित समापन गर्ने तयारी गरेको छ । साथै, दोस्रो सिजन ल्याउने योजना पनि अघि बढाइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
