“अधिकार र पहिचानका लागि जनजाति पत्रकारको भूमिका”- काठमाडौंमा फोनिजअन्तरसंवाद सम्पन्न

काठमाडौं। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित “अधिकार र पहिचानका लागि जनजाति पत्रकारको भूमिका” विषयक अन्तरसंवाद कार्यक्रम गत शनिबार राजधानीको बागबजारस्थित होटल हार्दिकमा सम्पन्न भयो। कार्यक्रममा विभिन्न सञ्चार माध्यमका जनजाति पत्रकार, स्थानीय तहका जनप्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि तथा अधिकारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सभाध्यक्षको रूपमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष भीम बहादुर लामा रहेका थिए। विशेष अतिथिका रूपमा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सन्नानी लामा, बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनीता लामा, शंखरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, हिमालयन बौद्ध शिक्षा तथा सम्बोध लिपि प्रशिक्षण केन्द्रका प्रमुख कोशिस लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका इन्चार्ज सुरेन्द्र भक्त श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं. १९ का कार्यवाहक अध्यक्ष मइयाँ लक्ष्मी महर्जन, श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहनकुमार तामाङ, नेवा राष्ट्रिय दबूका अध्यक्ष निपेन्द्रलाल श्रेष्ठ, फोनिजका संघीय अध्यक्ष लक्की चौधरी, फोनिज बागमती प्रदेशका महासचिव राजु नापित, तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङ, तथा नुह्या गुठीका अध्यक्ष सुर बहादुर श्रेष्ठ उपस्थित रहेका थिए।

स्थानिय तह र सञ्चार सम्बन्धमा महासंघको मूल्याङ्कन, समावेशी सञ्चारको व्यवहारिक चुनौती एवम् जनजाती पत्रकारका आवाजको प्रभावकारिता लगायतका विषयमा अन्तरनिहित रहेर गरिएको अन्तरसंवादमा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले जनजाति भएकै कारण आफ्नै कार्यपालिकामा समेत विभेदको श्रृङखला बारम्बार खेप्नु परेको खुलासा गरिन्।

“जनजाति भएकै कारण मैले आजका दिनसम्म पनि धेरै विभेद खेप्नुपरेको छ’, उनले भनिन्, ‘त्यसैले जनजाति अधिकारका विषयमा लड्नुअघि हामी स्वयं जनजातिको मुद्दामा स्पष्ट हुनुपर्छ। यसका लागि फोनिजले उचित प्लेटफर्म खोज्न पहल गर्नुपर्छ ।’ गैर–जनजातिलाई पनि यसबारे अध्ययन गराउन आवश्यक रहेको बताउदैँ उनले स्थानीय सरकारले गरेका राम्रा कामलाई सञ्चारमाध्यमले सही तरिकाले सम्प्रेषण नगर्ने र स्थानीय गतिविधिलाई बेवास्ता गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिइन्।

त्यसैगरी, शङ्खरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठले पत्रकारहरूले सत्यतथ्य उजागर गर्दै नागरिकसम्म सही सूचना पुर्‍याउनुपर्ने जिम्मेवारीबारे स्मरण गराइन्। उनले नगर नीतिमा जनजातिको मुद्दा समावेश गरिएको जानकारी दिँदै भाषा र संस्कृति जोगाउन घर–घरबाटै पहल गर्नुपर्नेमा जोड दिइन्। कार्य प्रष्ट पारेर प्रस्ताव ल्याउने पत्रकारलाई वर्षैभरि सहयोग गर्न नगरपालिका तत्पर रहेको उनको भनाई छ।

गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाले भने पत्रकारबिना स्थानीय तहका गतिविधि प्रचार–प्रसार असम्भव हुने बताइन्। उनले नगरमा हरेक जातजातिको हकका लागि बजेट विनियोजन हुँदै आएको उल्लेख गर्दै योग्य पत्रकारितालाई प्राथमिकता दिने प्रतिबद्धता जनाइन्।

यस्तै, फोनिजका संघीय अध्यक्ष लक्की चौधरीले राज्यको नीतिमा फोनिजलाई उपेक्षित गरिएको आरोप लगाए। पत्रकार महासंघलाई ३ करोडको बजेट छुट्याउँदा फोनिजलाई मात्र ३ लाख दिने निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले आदिवासीको मुद्दा पटक–पटक पेन्डिङमा राखिने वा मस्यौदा नै नआउने समस्या रहेको बताए। मेन स्ट्रिम मिडियामा सम्पादन तहमा जनजाति पत्रकारको न्यून उपस्थिति भएकाले आफ्ना विषय सही रूपमा सम्प्रेषण हुन नसकेको उनको धारणा छ ।

बौद्ध गुरु कोशिस लामाले पत्रकारलाई देशको गहना भन्दै विद्यालयस्तरदेखि नै आफ्ना संस्कृति र संस्कारबारे सचेतना फैलाउनुपर्नेमा जोड दिए। उनले जनजातिका अधिकार र पहिचान किन स्थापित हुन सकेन? भन्ने कारण पत्ता लगाई पत्रकार स्वयं सक्रिय हुनुपर्ने राय व्यक्त गरे ।

यसैगरि कार्यक्रमको अध्यक्षता सम्हालेका फोनिज काठमाडौँ समितिका अध्यक्ष भिम लामाले भने आदिवासी तथा जनजातिहरू अझै पनि पाउनुपर्ने हक र अधिकारबाट वञ्चित भएको बताए। उनले गुरुयोजना तथा हाइड्रोपावर परियोजनाको नाममा जनजातिलाई राज्यबाट विस्थापित गर्ने कार्य भइरहेको भन्दै यसविरुद्ध पत्रकारले अग्रपंक्तिमा रहेर आवाज उठाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा फोनिज बागमती प्रदेशका महासचिव राजु नापितले पनि आफ्ना धारणा प्रस्तुत गरेका थिए । जनजाति भएकै कारण पत्रकार महासंघको संस्थापकको विषय विवादित रहेको जानकारी दिदैँ उनले राज्यलाई जिम्मेवार बनाउनु नै फोनिजको मूल मर्म रहेको स्पष्ट पारे

त्यस्तै, कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काठमाडौं शाखाका उपाध्यक्ष सुदिना श्रेष्ठ, सचिव रत्न मान महर्जन, सह–सचिव राधिका लो, तथा कोषाध्यक्ष दीपा सुनारको समेत उपस्थिति रहेको थियो।

वक्ताहरूले पत्रकारितामा समावेशिता, भाषिक तथा सांस्कृतिक विविधताको सम्मान, र नीतिगत सुधारमार्फत जनजाति पत्रकारको सहभागिता विस्तार गर्न आवश्यक रहेकोमा जोड दिएका थिए।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-08-11