बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।

हाल मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने बागमती प्रदेशका केही स्थानहरूमा , कोशी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टा सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन(जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेकोछ ।

Sudina Shrestha

प्रकाशित: ७ श्रावण २०८२, मंगलवार ०९:५४