बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

काठमाडौँ । बंगलादेश वायुसेनाको एक प्रशिक्षण विमान ढाकाको एक विद्यालयमा दुर्घटनाग्रस्त भएको छ । बंगलादेशको मिडिया डेली स्टारका अनुसार विद्यालयमा कक्षा चलिरहेको बेला विमान दुर्घटना भएको थियो ।

प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । ६० जना घाइतेहरूलाई बर्न इन्स्टिच्युटमा रिफर गरिएको छ । साथै, सामान्य घाइते भएका २५ जनाको उत्तरा मेडिकल कलेजमा उपचार भइरहेको डेली स्टारले उल्लेख गरेको छ ।

बंगलादेशी सेनाले दुर्घटनामा वायुसेनाको एफ-७ बिजीआई विमान दुर्घटना भएको जानकारी दिएको छ।

अहिले राहत र उद्धारको काम भइरहेको र राहत र उद्धार कार्यका लागि सीमा रक्षक बंगलादेशका दुई टोलीहरू खटाइएको बंगलादेशको सेनाले जनाएको छ ।

pratikshya

प्रकाशित: ६ श्रावण २०८२, सोमबार १५:५४