भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट बारे केन्द्रीय कमिटीको बैठकमा ब्रिफिङ गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आइतबार पूर्वराष्ट्रपति भण्डारीसँग भएको भेटवार्ताबारे जानकारी गराएको एक केन्द्रीय सदस्यले एभरेष्ट न्यूज एजेन्सीलाई जानकारी दिए । 

बैठकमा ओलीले राष्ट्रपतिजस्तो उच्च पद र सेनाको परमाधिपति भैसकेर फेरी राजनीति आउनुले राम्रो सन्देश नजाने आफुले स्पष्ट गरेको बताएका थिए । साथै ओलीले पूर्वराष्ट्रपतिकै रुपमा सम्मानित रुपमा बस्न ठीक हुने सुझाव दिएको बैठकमा जानकारी गराएका थए  ।  भण्डारीले आफ्नो सुझावमा विचार गर्ने जवाफ दिएको ओलीले बैठकमा बताएका छन् । 

साथै बैठकमा ओलीले भण्डारीसँग कुनै विवाद नरहेको बताउदै अब भण्डारीको सदस्यता बारे यहि बैठकले निर्णय गरोस् भनेका थिए । सो भेटमा भण्डारीले आफ्नो सदस्यताको विषय बारे ओलीसँग जवाफ मागेको बताइएको छ । जवाफमा ओलीले अहिले सदस्यताको विषय भन्दा पनि पुर्वराष्ट्रपति राजनीतिमा आउन हुन्छ या हुदैन भन्ने प्रश्न रहेको जवाफ दिएका थिए  । 

यस अघि आइतबार अध्यक्ष ओलीसँग भेट गरेपछि भण्डारीले आफ्नो सदस्यता धेरै पहिला नवीकरण भएको बताएकी थिइन्  ।

आजदेखि शुरु भएको एमालेको केन्द्रीय कमिटी बैठक भोलीसम्म चल्ने बताइएको छ । बैठकले यसअघि सचिवालय र पोलिटब्युरो बैठकले अनुमोदन गरेको उपाध्यक्ष विष्णु पौडेलले प्रस्स्तुत गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव, महासचिव शंकर पोखरेलले पेश गरेको पार्टीको सङ्गठनात्मक प्रस्तावमाथि छलफल हुने र अनुमोदन गर्ने छ ।

एमालेले प्रस्तावित विधानमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ भने पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने र केन्द्रीय कमिटी २५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ ।

pratikshya

प्रकाशित: ६ श्रावण २०८२, सोमबार १४:५६