खानेपानीमन्त्रीद्वारा मध्यराति छड्के अनुगमन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आफैँ अनुगमनमा निस्किएका छन् ।

गएराति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको स्थलहरूमा छड्के अनुगमन गरेका हुन् ।

मन्त्री यादवले खानेपानी मन्त्रालय मातहतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्धारा बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्ण शम्शेर सडकका क्षेत्रमा मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतको पाइपलाइन बिच्छाइएको क्षेत्रमा भए गरेका कामहरुका बारेमा प्रत्यक्ष रुपमा जानकारी लिएका छन् ।

अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले पाइपलाइन बिच्छाइएको क्षेत्रमा तत्काल पाइप परिक्षण कार्य सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिए ।

बालुवाटारस्थित प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रहरूमा मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गत बिच्छाइएको प्राइमरी पाइपलाइन (३१५ मिमि) २८० मिमि (एचडिइपी) को निर्माण कार्य तेर्सो दिशात्मक ड्रिलिङग (एचडिडि) प्रविधिबाट सफलतापूर्वक सम्पन्न गरिएको र चाडै मेलम्चीको खानेपानी बितरण गरिने तयारी रहेको अनुगमनमा आफुले पाएको मन्त्री यादवले बताए ।

उनले भने, ‘मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गत बालुवाटार लगायतका क्षेत्रमा पाइपलाईन बिच्छाउने काम सफल भएको पाइयो । ती क्षेत्रमा अब चाडै मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएको छु ।’

पाइपलाइनको दबाव परीक्षण (प्रेसर टेष्ट) को तयारी तथा कार्य सम्पन्न गर्ने चरणमा रहेको र प्रेसर टेस्ट सफलतापूर्वक सम्पन्न भएपछि डिएमए एच २, आई ३, आई ४ र आई ५ अन्तर्गतका क्षेत्रहरू बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्ण शम्शेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरु गरिने आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए ।

उनका अनुसार पानी बितरण पश्चात उक्त क्षेत्रका करिब ३ हजार ५०० घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

काठमाडौँ उपत्यकाका बासिन्दालाई शुद्ध, स्वच्छ तथा नियमित खानेपानी आपूर्ति गर्ने दीर्घकालीन लक्ष्य अनुरूप उक्त पाइपलाइन बिच्छाउने कार्य निर्माण गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का आयोजना प्रवन्धक अमित रञ्जितले जानकारी दिए ।

Sudina Shrestha

प्रकाशित: ६ श्रावण २०८२, सोमबार ११:५९