साउनको पहिलो सोमवार शिवालयमा घुईंचो, पशुपतिनाथ मन्दिरको चारै ढोका खुला

काठमाडौं । साउन महिनाको पहिलो सोमवार आज देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको छ । भक्तजनका लागि आज बिहानैदेखि चारवटै ढोका खुला गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटका अनुसार दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ ।

साउन महिनामा विशेष पूजाका लागि सात हजार ५०० रुपैयाँ भन्दा कमको टिकट नकाट्ने कोषले जनाएको छ । कोषले यो वर्षदेखि साउनको सोमबार पशुपतिनाथको दर्शन आउनेका लागि चक्रपथमा निःशुल्क बसको व्यवस्था गरेको छ ।

चक्रपथ परिक्रमा गरेर चार वटा बसले भक्तजनलाई सेवा दिने छ । यो सेवा साउनका चारवटै सोमबार निरन्तर रहने कोषले जनाएको छ । त्यस्तै भक्तजनका लागि मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ ।

Sudina Shrestha

प्रकाशित: ६ श्रावण २०८२, सोमबार ०९:३०