सरकारको सञ्चित कोषमा २० अर्बको सुधार

काठमाडौं । संघीय सरकारको सञ्चित कोष २ खर्ब ४ अर्ब रुपैयाँले घाटामा गएको छ । सरकारले राजस्व, अनुदान तथा आन्तरिक र बाह्य ऋण लिएर प्राप्त गरेको रकमभन्दा बढी रकम खर्च गरेकाले सञ्चित कोष घाटामा गएको हो ।

संघीय सरकारको खातामा राजस्व, ऋण र अनुदानको पैसा नभए पनि धरौटी खाता, विभिन्न कोषमा पैसा भएकाले ओं रकमका आधारमा अर्थ मन्त्रालयले विभिन्न खर्चको भुक्तानी गरिरहेको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यमा सरकारको सञ्चित कोष २ खर्ब २४ अर्ब ९९ करोडले घाटामा थियो । चालू आर्थिक वर्षको अन्त्य सम्म २० अर्ब कम हुदै २ खर्ब ४ अर्ब भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।

आर्थिक बर्ष २०८१/८२ मा ११.३३ प्रतिशत बढी राजश्व संकलन भएपछि सरकारको सञ्चित कोषमा सुधार आएको देखिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ थियो भने आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो ।

सरकारले अब २०८२/८३ मा १३ खर्ब १५‍ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ ।  

pratikshya

प्रकाशित: ३ श्रावण २०८२, शुक्रबार १४:१६