फेवाताल घरको सिमानामा हालसम्म गाडियो ७८८ पिल्लर

पोखरा । फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम जारी रहेको छ । पोखरा महानगरपालिका, गण्डकी  प्रदेश  र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भहरू गाड्ने काम थालिएको हो । 

फेवाताल घरको सिमानामा हालसम्म ७८८ पिल्लरहरु गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिएका छन् । नगर प्रमुख धनराज आचार्यको प्रत्यक्ष निरीक्षणमा तालको वडा नम्बर २२ तर्फको क्षेत्रमा पील्लर गाड्ने कार्य भइरहेको सुवेदीले बताए ।

फेवाताल संरक्षणका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको आदेशाानुसार महानगरपालिकाले सम्बद्ध निकायहरूसँग समन्वय गरी थप कार्यहरू गर्दै जाने नगर प्रमुख आचार्यले बताए । फेवातालको संरक्षणको यो कार्य महानगरपालिकाको अगुवाइमा भइरहेको छ । पहिलो चरणमा ताल घरमा सीमा स्तम्भ गाड्ने र दोस्रो चरणमा थप कामको सुरुवात गर्ने महानगरपालिकाको योजना रहेको छ । 

तालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफलको चार किल्लामा १०५५ पोलहरू गाडिने महानगरले जानकारी दिएको छ । यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्त्व राख्ने विश्वास गरिएको छ ।

फेवा तालघरमा पिल्लर गाड्ने कार्यको शुभारम्भ गत जेठ १८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र महानगर प्रमुख धनराज आचार्यले गरेका थिए । 

फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण गरेको थियो । पछिल्लो रिपोर्ट अनुसार २९ वटा मुख्य आधार विन्दुहरू कायम गरी ४० से.मि उचाइका २९ पिल्लरहरु जमिनमुनि गाडिएका छन् । यसको आधारमा ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएका छन् । 

सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययन पश्चात् फेवातालको हाई फ्लोड लेबल ७९४.९५ मिटर कायम गरिएको  छ । उक्त विन्दुलाई आधार मान्दा तालको ताल घर ६.३४३ वर्ग किलोमिटर अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आएको छ ।

pratikshya

प्रकाशित: २७ असार २०८२, शुक्रबार १२:३३