आलिया भट्टकी पूर्व निजी सहायक ठगीको आरोपमा पक्राउ

काठमाडौँ । बलिउड अभिनेत्री आलिया भट्टकी पूर्व निजी सहायक वेदिका प्रकाश शेट्टी पक्राउ परेकी छन् । उनलाई आलियाको प्रोडक्सन हाउस र व्यक्तिगत खाताबाट ७७ लाख ठगी गरेको आरोप लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

वेदिका शेट्टीलाई आलिया भट्टको प्रोडक्सन हाउस ‘इटरनल सनशाइन प्रोडक्सन प्राइभेट लिमिटेड’ र आलियाको व्यक्तिगत खाताबाट पैसा निकालेको आरोपमा पक्राउ गरिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार शेट्टीले यी दुवै खाताबाट अवैध रूपमा ७७ लाख रुपैयाँभन्दा बढी रकम निकालेको बताइएको छ । यद्यपि, यस मुद्दामा अनुसन्धान भइरहेको छ र अधिकारीहरूले थप खुलासा हुन सक्ने बताएका छन् ।

प्रहरीले केही महिना अघि आलियाकी आमा सोनी राजदानको उजुरीमा यो मुद्दा दर्ता गरेको र लगभग ५ महिनापछि, आरोपीलाई बेंगलुरुबाट पक्राउ गरी अदालतमा पेश गरिएको थियो । वेदिकामाथि आलियाको हस्ताक्षर नक्कली गरेर दुई वर्षमा ७७ लाख ठगी गरेको आरोप छ ।

‘इटरनल सनशाइन प्रोडक्सन’ २०२१ मा आलिया भट्टले स्थापना गरेकी थिइन्। आलियाको यस प्रोडक्सन हाउसको पहिलो फिल्म ‘डार्लिङ्स’ थियो, जुन शाहरुख खानको कम्पनी रेड चिलीज इन्टरटेनमेन्टसँग मिलेर निर्माण गरिएको थियो । यस फिल्ममा आलिया भट्ट, विजय वर्मा र शेफाली शाहले महत्त्वपूर्ण भूमिका खेलेका छन् । फिल्म नेटफ्लिक्समा स्ट्रिम गरिएको थियो र दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

वेदिका शेट्टीले एक पटक आलिया भट्टसँग काम गरेकी थिइन् र उनलाई अभिनेत्रीको व्यक्तिगत जीवन र प्रोडक्सन हाउसको जिम्मेवारी सुम्पिएको थियो । अब यो कुरा बाहिर आएको छ कि उनले आफ्नो पदको दुरुपयोग गरी आलियाको प्रोडक्सन हाउस र व्यक्तिगत खाताबाट पैसा निकालेकी थिइन् । हाल यस विषयमा आलिया र उनको टोलीबाट कुनै बयान आएको छैन र अब प्रहरीले यस विषयमा थप कारबाही गरिरहेको छ।

यसैबीच, आलिया भट्ट हाल आफ्नो स्पाइ युनिभर्स फिल्म ‘अल्फा’ को छायांकनमा व्यस्त छिन् । यस फिल्ममा शर्वरी वाघ पनि मुख्य भूमिकामा देखिनेछिन् र यो फिल्म २५ डिसेम्बर २०२५ मा रिलिज हुनेछ । यसबाहेक, आलिया चाँडै नै आफ्ना अभिनेता-पति रणबीर कपूरसँग संजय लीला भन्सालीको फिल्म ‘लभ एण्ड वार’ मा फेरि देखिनेछिन् । यस फिल्ममा विक्की कौशल पनि मुख्य भूमिकामा छन् । आलियासँग फरहान अख्तरको फिल्म ‘जी ले जरा’ पनि पाइपलाइनमा छ । फिल्ममा कट्रिना कैफ र प्रियंका चोपडा पनि मुख्य भूमिकामा रहेका छन् ।

pratikshya

प्रकाशित: २५ असार २०८२, बुधबार १४:४४