सिद्धार्थ राजमार्गमा पहिरो: मोटरसाइकल चालक श्रीमानको मृत्यु, श्रीमती घाइते

बुटवल । सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर नजिकै मंगलबार साँझ सडकमाथिबाट खसेको पहिरोमा परी एक पुरुषको ज्यान गएको छ । 

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पहिरोमा परी पाल्पा रामपुर-६ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको हो ।

बुटवलदेखि पाल्पा रामपुरतर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा सवार जनकसँगै पछाडि सवार उनकी श्रीमती कल्पना चापागाई घाइते भएकी छन् । तिनाउ-३ हेडवक्स नजिकै भएको दुर्घटना लगत्तै उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले जनकलाई मृत घोषणा गरेका थिए । सडकमाथि भिरबाट पहिरो आएर लाग्दा जनक सडकदेखि तल खसेका थिए । पहिरोमा परी घाइते कल्पनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरी ले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले सो क्षेत्रमा रातिमा यात्रा नगर्न आग्रह गरेको छ । पानी परेको बेलामा जुनसुकै बेलामा पहिरो खस्ने भएकाले सिद्धार्थ राजमार्ग लगायत अन्य सहायक मार्गमा रातिमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ । 

pratikshya

प्रकाशित: २५ असार २०८२, बुधबार १४:३२