पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ७९औँ वर्षमा प्रवेश गरेका छन् । उनलाई शुभकामना दिन बिहानैदेखि निर्मल निवासमा शुभेच्छुकहरूको भीड लागेको छ ।
राजावादी प्रमुख दल राप्रपाले पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनलाई आन्दोलनकै रूपमा मनाउने निर्णय गरेपछि आज निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ । निर्मल निवास खुला गरिएपछि उनलाई शुभकामना दिनेहरुको भीड लागेको छ ।

२००४ साल असार २३ गते नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नको माइलो छोरा रूपमा जन्मिएका ज्ञानेन्द्र राजगद्दीका उत्तराधिकारी नभए पनि उनी आफ्नो जीवनकालमा दुई पटक राजा भएका थिए ।

पहिलो पटक साढे तीन वर्षको उमेरमै विसं २००७ सालमा राजा बनेका थिए भने दोस्रो पटक ०५८ सालमा दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहको परिवारै सखाप भएपछि फेरि उनै ज्ञानेन्द्रले गद्दी सम्हालेका थिए ।

२०६१ साल माघ १९ मा ज्ञानेन्द्रले लोकतान्त्रिक सरकार विघटन गर्दै कार्यकारी शासन सम्हाले, जसले व्यापक विरोध निम्त्यायो । त्यही कदमले उनलाई विवादास्पद बनायो ।

२०६२/६३ को जनआन्दोलनपछि राजतन्त्रको अन्त्य भयो र नेपाल गणतन्त्र घोषित भयो । राजा ज्ञानेन्द्रले २०६५ जेठ १५ मा नारायणहिटी दरबार खाली गरे र नागार्जुन दरबारमा सरे । त्यसयता उनी पूर्वराजाका रूपमा सामान्य जीवन बिताइरहेका छन् ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-07-07