
ललितपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले महाधिवेशनको मिति तोकेर अघि बढ्नु पर्ने बताएकी छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा मंगलबार धारणा राख्दै पन्तले महाधिवेशनको स्पष्ट मिति र कार्यतालिका तत्काल तय गर्न प्रस्ताव पनि गरेकी छिन् ।
उनले भ्रातृ संस्थाहरूको अधिवेशनमा ढिलाइ र नेता–कार्यकर्ताबीच बढ्दो दूरीका कारण पनि पार्टीलाई क्षति भइरहेको औल्याइएन् । उनले भनिन्- ‘पार्टी विधानअनुसार महाधिवेशन वर्षमा क्रियाशील सदस्यता वितरण बन्द हुनुपर्छ, जसलाई कडाइका साथ लागू गर्नुपर्छ ।’
मंसिरमा महाधिवेशन हुने सम्भावना कम देखिएको भन्दै उनले समयमै कार्यतालिका बनाएर संगठनलाई गतिशील बनाउनुपर्नेमा जोड पनि दिइन् । यसैगरी, नेविसंघ, तरुण दल र महिला संघ जस्ता भ्रातृ संस्थाहरूमा देखिएको विवाद र अधिवेशनको ढिलाइले संगठनमा गम्भीर असर परेको भन्दै केही नेतृत्वले म्याद थप्दा पनि अधिवेशन गर्न नसक्नु र पद जोगाउने चिन्ताले समस्या निम्त्याएको उल्लेख गरिन् । भ्रातृ संस्थाहरूको अधिवेशनका लागि तत्काल कार्ययोजना बनाई समयसीमा तोकेर कार्यान्वयन गर्नुपर्ने पन्तको सुझाव छ ।
सरकारबारे धारणा राख्दै पन्तले वर्तमान गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति प्रभावकारी नभएको टिप्पणी गरिन् । यसैगरी मन्त्रीहरूको कमजोर भूमिका र सबै राम्रा कामको जस प्रधानमन्त्रीलाई जाने अवस्था अन्त्य हुनु पर्ने बताइन् । उनले भनिन् ‘केही साथीहरू सधैंभरी मन्त्री भइरहने भ्रममा हुनुछन्, त्यो भ्रमबाट मुक्त हुनुहोस् ।’
पेशागत तथा बुद्धिजीवी विभागको संयोजकको हैसियतले उनले सातै प्रदेशमा संविधान संशोधनको आवश्यकताबारे अन्तरक्रिया गरेको र प्रतिवेदन केन्द्रमा बुझाइसकिएको बताउँदै नेकपा एमालेसँगको सात बुँदे सहमतिमा उल्लेखित संविधान संशोधनको विषयलाई गम्भीरतापूर्वक लिएर कांग्रेसले संसदमा नेतृत्व गर्नुपर्नेमा पन्तको जोड थियो ।
आगामी चुनावमा नेकपा एमाले मुख्य प्रतिस्पर्धी हुने भएकाले अहिलेदेखि नै संगठन निर्माणमा ध्यान दिन र सरकारमा गएका मन्त्रीहरुले पनि इमान्दारिताका साथ काम गर्न आग्रह गरिन् । उनले भनिन् ‘मिसन २०८४ को चर्चा चुलिएको छ, तर के कांग्रेस एक्लै चुनाव लड्न तयार छ ? यस विषयमा गम्भीर समिक्षा हुन जरुरी छ ।’
यस्तै, पुरक एसिया नामक गैरसरकारी संस्थाको सर्वेक्षण उद्धृत गर्दै उनले ८४ प्रतिशत जनता राजनीतिक दलहरूसँग असन्तुष्ट रहेको, ९४ प्रतिशतले दलहरूको मिलेमतोमा भ्रष्टाचार भइरहेको र ९० प्रतिशतले भ्रष्टहरूलाई दलहरूले नै संरक्षण गरेको ठान्ने गरेको तथ्यांक प्रस्तुत गर्दै मुलुकको जेठो र लोकतान्त्रिक पार्टी भएको नाताले यतातर्फ ध्यान दिएर जनताका निराशालाई आशामा बदल्न जरुरी रहेको बताइन् ।
‘५४ प्रतिशत मतदाताले आगामी चुनावमा विगतभन्दा फरक दललाई भोट दिने र ७३ प्रतिशतले नयाँ नेतृत्व आएमा पुनर्विचार गर्न सक्ने बताएका छन्,’ उनले भनिन् । हालको सरकारप्रति ९ प्रतिशत मात्रै सन्तुष्ट रहेको उक्त सर्वेक्षणले देखाएको भन्दै यता तर्फ पनि पार्टीले ध्यान दिनु पर्नेमा जोड दिइन् । ‘कम्युनिस्ट पार्टीहरू दलाल र बिचौलियाको पकडमा छन् भने अर्को समूह लोकतन्त्र विरोधी गतिविधीमा लागेकाले नेपाली कांग्रेसले लोकतन्त्र जोगाउन सतिशाल भएर उभिनु पर्नेमा जोड दिँदै भनिन् ‘हामी सबै एकजुट भएमा लोकतन्त्र जोगाउन पर्याप्त छ ।’
बैठकमा उनले पार्टीको आन्तरिक एकता र अनुशासनलाई बलियो बनाएर २०८४ को चुनावमा बलियो उपस्थिति देखाउनुपर्नेमा जोड पनि दिइन् ।
Sudina Shrestha
प्रकाशित: १७ असार २०८२, मंगलवार १२:३८
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
