पहिरोले सल्यान, रोल्पा, रुकुम र रसुवाका सडक अवरुद्ध

काठमाडौँ । बर्षा र पहिरोका कारण सल्यान, रोल्पा, रुकुम र रसुवाका सडक अवरुद्ध भएका छन् ।

प्रहरीका अनुसार सल्यानको कपुरकोट- ३ चोरखोलास्थित राप्‍ती राजमार्ग बर्षाको कारण सडक अवरुद्ध भएको छ ।  आइतबार साँझ राप्‍ती राजमार्ग अन्तर्गत सडक खण्डमा बर्षाको कारण सडकभन्दा माथिबाट पहिरो खस्न गई सडक पुर्ण रुपमा अवरुद्द भएको, भिषण पानी परेकोले पानी  रोकिएपछि मात्र बाटो खुलाउने कार्य हुने प्रहरीले जनाएको छ । 

त्यस्तै रोल्पाको माडि गाउँपालिका-४ जलजलास्थित घोराही रुकुम सहिद राजमार्गमा पहिरो गई बाटो पुर्ण रुपमा अवरोध रहेको छ । प्रहरीले आइतबार राति घोराही रुकुम सहिद राजमार्गमा अविरल वर्षाको कारण माथिबाट पहिरो गई बाटो पुर्ण रुपमा अवरोध रहेको र खुलाउने पहल भइरहेको जनाएको छ ।

त्यस्तै रुकुम पश्चिम मुसिकोट-१२ स्थित प्रितिबाङ खोलामा पानीको बहाब बढेर राप्ति राजमार्ग पुर्ण रुपमा अवरोध रहेको छ । आइतबार राति प्रितिबाङ खोलामा पानीको बहाब बढेर राप्ति राजमार्ग करिडोर सडकखण्ड पुर्ण रुपमा अवरोध भएको र  खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै म्याग्दीको अन्नपुर्ण-७ महभिरस्थित बेनी –जोमसोम सडकखण्डमा सडक पहिरोले पुर्णरुपमा अवरोध रहेको छ । आइतबार राति बेनी –जोमसोम सडक खण्डमा सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसी सडक पुर्णरुपमा अवरोध रहेको छ र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी रसुवा गोसाईकुण्ड- ५ सानो भार्कुस्थित पासाङ ल्हामु सडकखण्डमा सडक पहिरोले पुर्ण रुपमा अबरोध रहेको छ । सोमबार बिहान अबिरल बर्षाको कारण पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट पहिरो आई सडक पु्र्ण रुपमा अबरोध रहेको छ र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Sudina Shrestha

प्रकाशित: १७ असार २०८२, मंगलवार १०:१५