
काठमाडौँ । फ्रान्सले सार्वजनिक स्थानमा धुम्रपान पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । सरकारको नयाँ नियम अनुसार, पुस्तकालय, स्विमिङ पुल र विद्यालय बाहिर पनि धुम्रपान गर्न अनुमति दिइने छैन । यो नियम पहिले जुलाई १ देखि लागू हुने भनिएको थियो, तर अब जुन २९ देखि लागू गरिएको छ ।
बालबालिकाको चुरोटको धुवाँबाट जोगाउन यो कदम चालिएको हो। यद्यपि, यस नियममा ई-चुरोटको कुनै उल्लेख छैन । यदि कसैले यो नियम तोड्यो भने, उसले १३५ युरो जरिवाना तिर्नुपर्ने बताइएको छ । यद्यपि, क्याफे र बारहरू बाहिरका ठाउँहरू (टेरेसहरू) मा यो प्रतिबन्ध लागू हुनेछैन ।
फ्रान्समा प्रत्येक वर्ष, चुरोटबाट हुने रोगका कारण लगभग ७५ हजार मानिसहरूको मृत्यु हुन्छ । हालै गरिएको एक सर्वेक्षणमा, ६२ प्रतिशत मानिसहरू सार्वजनिक स्थानमा धुम्रपान प्रतिबन्ध लगाउने पक्षमा रहेका थिए ।
फ्रान्सले २००८ देखि रेस्टुरेन्ट र नाइटक्लब जस्ता ठाउँहरूमा धूम्रपान प्रतिबन्ध लगाएको थियो । सरकारले २०३२ सम्ममा सुर्तीजन्य पदार्थमुक्त पुस्ता सिर्जना गर्ने लक्ष्य राखेको छ । बेलायत, स्वीडेन र स्पेन जस्ता अन्य युरोपेली देशहरूले पनि सार्वजनिक स्थानहरूमा धूम्रपानमा कडा नियमहरू लगाएका छन् ।
स्वीडेनले २०१९ मा रेस्टुरेन्ट, बस स्टप र विद्यालयहरू नजिक धूम्रपान प्रतिबन्ध लगाएको थियो । स्पेनले अब क्याफे र रेस्टुरेन्टहरू बाहिर पनि धूम्रपान प्रतिबन्ध लगाइरहेको छ ।
pratikshya
प्रकाशित: १५ असार २०८२, आईतवार १३:१७