२१ जनाको टोली लिएर स्पेन उडे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौँथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जानका लागेका हुन् ।

स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको समेत सहभागिता हुन्छ ।

कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा २१ जना सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भ्रमणअघि आजै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे संसद्लाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा को को छन् ?

प्रधानमन्त्री ओलीको २१ सदस्यीय भ्रमण दलमा प्रथम महिला राधिका शाक्य प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायत सहभागी हुनेछन् । काठमाडौँबाट २१, स्पेन र न्युुयोर्कबाट आठ गरी २९ जना नेपाली प्रतिनिधिमण्डल हुनेछ ।

भ्रमण दलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनेछन् ।

Sudina Shrestha

प्रकाशित: १४ असार २०८२, शनिबार १९:३७