
एजेन्सी । एक्सियम-४ मिसन अन्तर्गत अन्तरिक्षमा गएको स्पेसएक्स ड्र्यागन क्याप्सुलका अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको छ । ड्र्यागन क्याप्सुल निर्धारित समयभन्दा २० मिनेट अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसँग जोडिएको थियो । यसपछि लगभग दुई घण्टाको अनुसन्धानपछि अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रवेश गरेका छन् ।
एक्सियम(४ मिसन अन्तर्गत भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्लासहित अन्य तीन अन्तरिक्ष यात्री अन्तरिक्ष स्टेशन पुगेका छन् । शुभांशु यस मिसनका पाइलट हुन् । शुभांसुसहित यस मिसनमा अमेरिकाका पेगी ह्विटसन, पोल्याण्डका स्लावोस्ज उज्नान्स्की विस्निभ्स्की र हंगेरीका टिबोर गेट रहेका छन् । यी चार अन्तरिक्ष यात्रीहरू १४ दिनसम्म अन्तरिक्ष स्टेशनमामा बस्नेछन् ।
एक्सियम(४ मिसन पटक पटकको स्थगनपछि बुधबार सफल प्रक्षेपण गरिएको थियो । अन्तरिक्ष यात्री शुभांशु ४१ बर्षपछि अन्तरिक्षमा जाने भारतीय बनेका छन् । यसअघि, राकेश शर्मा सन् १९८४ मा रूसी मिसन अन्तर्गत अन्तरिक्षमा जाने पहिलो भारतीय थिए ।
यो मिसन भारतका साथै पोल्याण्ड र हंगेरीको लागि पनि ऐतिहासिक मिसन भनिएको छ । यी दुई देशहरूले ४० वर्षमा पहिलो पटक मानव अन्तरिक्ष उडानमा भाग लिएका छन् । भारत, पोल्याण्ड र हंगेरी संयुक्त मिसन अन्तर्गत आईएसएसमा सँगै गएको यो पहिलो पटक हो ।
Sudina Shrestha
प्रकाशित: १३ असार २०८२, शुक्रबार ०८:३५