रामेछाप, जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ को कुनाउरीको भलुवाखोलाबाट वडा नम्बर ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोसी नदीमा निर्माणाधीन पुल आइतबार दिउँसो भाँचिएको हो ।
यसअघि निर्माणाधीन अवस्थामा पुल सम्पन्न गर्ने उद्देश्यले तीव्रता पाइरहेको अवस्थामा बीच भागको एउटा स्पान दुई महिना अगाडि भाँचिएको थियो । उक्त स्पानलाई प्राविधिकले मर्मत गरेर प्रयोगमा ल्याउन सकिने प्रतिवेदनमा उल्लेख गरिएपछि निर्माण कम्पनीले स्पानको मर्मत गरिरहेको थियो ।
मर्मत भइरहेको अवस्थामा आज दिउँसो पुलको स्पान एक्कासी पूरै भाँचिएको स्थानीय लेखनाथ ढुङ्गेलले बताए । गुणस्तरहीन सामग्री प्रयोग गरेर वा अन्य कारणले यसरी पटकपटक स्पान भाँचिएकाबारे खोजी हुनेपर्नेमा उनले जोड दिए । भाँचिएको स्पान पूर्ण रूपमा पिल्लरबाट भत्किएर भुइँमा झरेको मन्थली–७ का पूर्ववडाध्यक्ष सुदर्शन प्रसाईंले जानकारी बताए । पुल भत्किएको थाहा पाउनासाथ उक्त ठाउँमा स्थानीय घुइँचो लागेको थियो ।
आगामी भदौ मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नेगरी तीव्र गतिमा काम भइरहेको थियो । निर्माणाधीन उक्त पुल भत्केपछि लामो प्रतीक्षामा रहेका स्थानीय बासिन्दा चिन्तित छन् ।सडक विभागले आर्थिक वर्ष २०७७र७८ मा कूल रु २२ करोड ५५ लाख चार हजारमा ठेक्का सम्झौता गरेको थियो ।चार वटा स्पानसहित कूल दुई सय ३० मिटर लामो उक्त पुल ११ मिटर चौडाइको थियो । कूल सम्झौता रकमको झण्डै ६० प्रतिशतभन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी लिइसकेका छन् ।
पुल सञ्चालनमा आएपछि मन्थली–खुर्कोट सडकखण्डभन्दा पकरबास गोगनपानीबाट सित्खा हुँदै सिन्धुलीको सुनकोसी गाउँपालिकाको मुल्कोट निस्केर छोटो दूरीमा काठमाडौँ आवतजावत गर्न सकिनेछ । सदरमुकाम मन्थलीबाट जिल्लाका तीन वटा पालिका जोड्ने वैकल्पिक मार्गका रूपमा यसलाई लिइएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-22
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
