बन्दूक र कलमको बेजोड सम्मीश्रण गराएका चर्चित गीतकार टेक तामाङको एकल सांगीतिक साँझ हुँदै

काठमाडौं, सामाजिक र साँस्कृतिक प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षाका साथ गीतकार संघ नेपालले असार १४ गते शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा चर्चित गीतकार टेक तामाङको पहिलो एकल सांगीतिक साँझ आयोजना गर्ने भएको छ । टेक तामाङ चर्चित गीतकारमात्र होइनन्, प्रहरी अफिसर पनि हुन् । हाल उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख छन् । देशप्रेम, जनप्रेम र राष्ट्रभक्ति टेक तामाङका गीतहरुमा झल्किन्छन् मात्र होइन, माया, प्रेम र सदभाव पनि छताछुल्ल भएर पोखिन्छ ।

काठमाडौं उपत्यकालाई शान्त र सुरक्षित राख्ने अभिप्रायका साथ सरोकारवाला सबैको साथ-समर्थन र प्रतिबद्धता जुटाएर शुभारम्भ गरिएको ‘लागूऔषधविरुद्धको महाअभियान’ का ‘रोल मोडल’, काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौंमा पहिलोपटक आयोजना गरेको मनसुनजन्य विपद् उद्धार प्रशिक्षण कार्यक्रमका परियोजनाकार, अपराध-अनुसन्धान र कमाण्ड कन्ट्रोलमा अब्बल प्रहरी अतिरिक्त महानिरीक्षक एवं चर्चित गीतकार टेक तामाङ साहित्यका विविध विधामा पनि प्रख्यात छन् ।

गीतकार संघ नेपालले आयोजना गर्ने चर्चित गीतकार टेक तामाङको एकल सांगीतिक साँझका लागि चयन भएका गीतमा नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा-मीठा बोली, जित्नेहरुको पनि, आफ्नै धड्कन, मनपर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराइको, अँगालोमा बेरिरहुँ, जन्मी-खेली, मै खुकुरी, माथि-माथि लेकमा, जोर मादलको तालैमा, स्वर्ग झैँ शैलुङ्गजस्ता लोकप्रिय, कर्णप्रिय र सुमधुर १७ वटा गीत गुञ्जने छन् ।

‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ नाम दिइएको एकल सांगीतिक साँझमा प्रत्यक्ष वाद्यवादनसहित दीप श्रेष्ठ, किरण प्रधान, शिव परियार, राजेशपायल राई, अञ्जु पन्त, सत्यराज आचार्य, संगीता राना प्रधान, डेभिड शंकर, रुपक चौधरी, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सञ्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बम्जन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिनालगायत अग्रजदेखि अहिले चलेका लोकप्रिय गायक(गायिकाले चर्चित गीतकार टेक तामाङका गीतहरु गुञ्जाउने छन् ।

कहिलेकाहिं कठोर निर्णय पनि गर्नुपर्ने प्रहरी पेशा । भावनामा बहेर सिर्जना गर्नुपर्ने गीत र साहित्य । बन्दूक र कलमको बेजोड सम्मीश्रणमा आफूलाई अब्बल सावित गरेका प्रहरी अतिरिक्त महानिरीक्षक एवं चर्चित गीतकार टेक तामाङले २०५० सालमा ‘छाल आउँदा सम्झनाको’ पहिलो गीत ल्याएर अहिलेसम्म सयौं गीत रेकर्ड गराएका छन् भने ‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ सम्पन्न गर्न गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाको संयोजकत्वमा समिति गठन भएको छ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-06-22