आफ्ना नागरिक फर्काउन भारतले शुरु गर्यो अप्रेशन सिन्धु, इरानबाट ११० जना ल्याइयो

काठमाडौँ । इरानमा बिग्रँदै गएको अवस्थाको बीचमा, त्यहाँ फसेका ११० भारतीय नागरिकहरूलाई सुरक्षित रूपमा भारत ल्याइएको छ । भारतले इजरायल-इरान तनाबमा दुवै देशमा फसेका भारतीयको उद्धार गर्न अप्रेशन सिन्धु संचालन गरेको छ ।

भारतको विदेश मन्त्रालयले अप्रेशन सिन्धु अन्तर्गत पहिलो उडानमा इरानबाट ११० भारतीयलाई दिल्ली ल्याइएको जानकारी दिएको छ । इरानबाट फर्किएका एक विद्यार्थी यासिर गफ्फारले रातमा माथिबाट क्षेप्यास्त्रहरू उडिरहेको र ठूलो विस्फोट सुनेको बताए । 

यस उडानमा इरानको उर्मिया विश्वविद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई ल्याइएको बताइएको छ । विद्यार्थीहरुले पहिले आफुहरुलाई विश्वविद्यालयबाट निकालेर आर्मेनिया लगिएको थियो, त्यहाँबाट उनीहरुलाई भारत फर्काइएको जानकारी दिएका छन् ।

Sudina Shrestha

प्रकाशित: ५ असार २०८२, बिहीबार १०:३७