पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो । जाँचका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सकले गए राति तीनै जनालाई मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिनुभयो । मृतकका शव सोही अस्पतालमा रहेको उनले बताए ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय इलामले ७० मिटर लामो मोडूलार बेलिब्रिज निर्माण गरिरहेको थियो । हेंवा खोलाको फिदिम नगरपालिकातर्फको भागमा बेलिब्रिज जडान गरी स्काभेटरको सहायताले ठेलेर खोला पारिपट्टि हिलिहाङ गाउँपालिकातर्फ टेकाइएको थियो ।
फिदिमतर्फको भागको भार अत्यधिक हुँदा बेलिब्रिज भाँचिएको प्रत्यक्षदर्शीको भनाइ छ । बेलिब्रिज भाँचिदा जडानको काम गरिरहेको छ जना कामदार बेलिब्रिजसँगै खोलामा झरेर घाइते भएका थिए ।
२०८० असार २ गते आएको बाढीले यहाँ रहेको ४५ मिटर लामो सडक पुल बगाएपछि सोही वर्षको साउनमा सोही स्थानमा करिब ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो । तर सो बेलिब्रिज गत असोज १२ गते आएको बाढीले बगाएपछि करिब ९० मिटरमुनि नयाँ बेलिब्रिज निर्माण गरिरहेकामा कार्य सम्पन्न हुन लाग्दा भाँचिएको जनाइएको छ ।
उक्त बेलिब्रिज भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो भने संरचना निर्माण तथा जडान रु तीन करोड ४९ लाखको लागतमा सुपर सौगात लाइट बिल्डर्स जेभीले गरिरहेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-15
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
