काठमाण्डौ । सार्वजनिक पद धारण गरेका पाँच हजार पाँच सय चार जना कर्मचारी तथा पदाधिकारीले तोकिएको समयावधिभित्र सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनमा राजनीतिक नियुक्ति खाएकादेखि प्रहरी, शिक्षक, कर्मचारीले पनि सम्पत्ति विवरण नबुझाएको पाइएको हो ।
केन्द्रले आर्थिक वर्ष २०८०/८१ को सम्पत्ति विवरण तथा अनुगमन प्रतिवेदन सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेश गरेको थियो । त्यसमा सङ्घका चार हजार पाँच सय ९३ जना पदाधिकारी तथा कर्मचारीले विवरण नबुझाएको उल्लेख छ । त्यस्तै प्रदेशका चार सय ७९ जना र स्थानीय तहका चार सय ३२ जनाले पनि तोकिएको समयभित्र सम्पत्ति विवरण बुझाएका छैनन् ।
सम्पत्ति विवरण बुझाउने दायित्व भएका सङ्घका चार लाख ८८ हजार दुई सय ८० जना, प्रदेशका १९ हजार आठ सय ३४ जना र स्थानीय तहका दुई लाख ७३ हजार दुई सय ३९ जना कर्मचारी तथा पदाधिकारी छन् ।
सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सम्पत्ति विवरण पेश गर्नुपर्ने प्रावधान छ । सार्वजनिक पदमा बहाल भएको मितिले साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र कानूनबमोजिम आफ्नो सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।
तोकिएको म्यादभित्र सम्पत्तिको विवरण पेश नगर्ने सार्वजनिक पदधारण गरेको व्यक्तिलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० ९३० बमोजिम कारबाही गर्ने व्यवस्था रहेको छ । तोकिएको समयावधिभित्र सम्पत्ति विवरण नबुझाएका सार्वजनिक पदधारण गरेका राष्ट्रसेवक तथा पदाधिकारीलाई प्रचलित कानूनबमोजिम आवश्यक कारबाहीका लागि आयोगले कदम चाल्ने सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
