
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा १५ चैतमा भएको हिंसात्मक घटनामा संलग्न भएको अभियोगमा ६१ जनाविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अन्य चार नाबालकविरुद्ध भने सोमबार भक्तपुर बाल अदालतमा मुद्दा दर्ता गराउने तयारी छ ।
सरकारी वकिलको कार्यालयले राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गाप्रसाद प्रसाईंलाई पाँच तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबराविरुद्ध चार–चार कसुरमा सजाय मागदाबी गरेको छ ।
प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवतर्फ, कर्तव्य ज्यानतर्फ, ज्यान मार्ने उद्योग, संगठित अपराध र एकीकृत कसुरमा सजायको माग गरिएको छ । मिश्र र जबरामाथि भने राज्यविरुद्ध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा अभियोग लगाइएको छ ।
सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोगपत्र बनाएर मुलुकी फौजदारी कार्यविधि सहिता, २०७४ को दफा ३२ बमोजिम मुद्दा दायर गरेको छ । ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत र अन्यलाई व्यक्तिविशेष मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ ।
हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोप लागेका चार बालकमध्ये एक बालकलाई राज्यविरुद्ध र अन्य ३ जनाविरुद्ध आपराधिक उपद्रवमा मुद्दा दर्ता हुनेछ । जिल्ला प्रहरी परिसर काठमाडौंले करिब दुई महिना लगाएर तीनकुने घटनाको अनुसन्धान गरेको थियो । १८ जना अहिले पनि प्रहरीको फरार सूचीमा छन् ।
राजावादीले १५ चैतमा गरेको प्रदर्शन हिंसात्मक बन्दा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का सविन महर्जनको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए । गोली लागेर घाइते भएका ३ जना अझै पनि उपचारका क्रममा छन् ।
यस्तै, तीनकुनेको प्रदर्शनमा १५ निजी घर, ३७ निजी संस्था, दुई सञ्चार गृह, एउटा सुपर मार्केट, दुई अस्पताल, चार बैंक, दुई सहकारी, २० व्यवसाय, एक विद्यालय, दुई पार्टी कार्यालय र तीन कार्यालय, एक उद्योग, दुई प्रहरी कार्यालय र ट्राफिक आइल्यान्डमा क्षति पुगेको प्रहरीको तथ्यांक छ । आगजनी र तोडफोडबाट ६९ सवारीसाधनमा क्षति पुगेको थियो ।
Sudina Shrestha
प्रकाशित: १३ जेष्ठ २०८२, सोमबार ०९:३१
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
