काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा १५ चैतमा भएको हिंसात्मक घटनामा संलग्न भएको अभियोगमा ६१ जनाविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अन्य चार नाबालकविरुद्ध भने सोमबार भक्तपुर बाल अदालतमा मुद्दा दर्ता गराउने तयारी छ ।
सरकारी वकिलको कार्यालयले राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गाप्रसाद प्रसाईंलाई पाँच तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबराविरुद्ध चार–चार कसुरमा सजाय मागदाबी गरेको छ ।
प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवतर्फ, कर्तव्य ज्यानतर्फ, ज्यान मार्ने उद्योग, संगठित अपराध र एकीकृत कसुरमा सजायको माग गरिएको छ । मिश्र र जबरामाथि भने राज्यविरुद्ध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा अभियोग लगाइएको छ ।
सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोगपत्र बनाएर मुलुकी फौजदारी कार्यविधि सहिता, २०७४ को दफा ३२ बमोजिम मुद्दा दायर गरेको छ । ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत र अन्यलाई व्यक्तिविशेष मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ ।
हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोप लागेका चार बालकमध्ये एक बालकलाई राज्यविरुद्ध र अन्य ३ जनाविरुद्ध आपराधिक उपद्रवमा मुद्दा दर्ता हुनेछ । जिल्ला प्रहरी परिसर काठमाडौंले करिब दुई महिना लगाएर तीनकुने घटनाको अनुसन्धान गरेको थियो । १८ जना अहिले पनि प्रहरीको फरार सूचीमा छन् ।
राजावादीले १५ चैतमा गरेको प्रदर्शन हिंसात्मक बन्दा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का सविन महर्जनको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए । गोली लागेर घाइते भएका ३ जना अझै पनि उपचारका क्रममा छन् ।
यस्तै, तीनकुनेको प्रदर्शनमा १५ निजी घर, ३७ निजी संस्था, दुई सञ्चार गृह, एउटा सुपर मार्केट, दुई अस्पताल, चार बैंक, दुई सहकारी, २० व्यवसाय, एक विद्यालय, दुई पार्टी कार्यालय र तीन कार्यालय, एक उद्योग, दुई प्रहरी कार्यालय र ट्राफिक आइल्यान्डमा क्षति पुगेको प्रहरीको तथ्यांक छ । आगजनी र तोडफोडबाट ६९ सवारीसाधनमा क्षति पुगेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-26
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
