
काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ । संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । आजदेखि सुरु हुने सो कार्यक्रम यही जेठ ४ गतेसम्म सञ्चालन हुने छ ।
परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाका अनुसार, सो सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी हुनेछन् । कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीन, भारतलगायत मुलुकका विशिष्ट पाहुना नेपाल आइसकेका छन् भने अन्य मुलुकका विशिष्ट अतिथि आउनेक्रम जारी छ ।
उद्घाटन समारोहमा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने छ । भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउनुहुने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ ।
संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पठाउनुभएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ । उद्घाटनपछि ‘प्लेनरी सेसन’ आयोजना हुने छ । यस सत्रमा सहभागी सबै राष्ट्र र अन्तरराष्ट्रिय एवं क्षेत्रीय सङ्गठनको प्रस्तुति रहने छ ।
सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी सङ्गठन एवं संस्थाले भाग लिने छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३ जेष्ठ २०८२, शुक्रबार ०९:२०
Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
