
काठमाडौँ । नेपाल र थाइल्यान्डबिच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुई वटा र गैरसरकारी पक्षबिच छ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा राजनीतिक तथा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, उड्डयन, पर्यटन तथा संस्कृति, विकास सहकार्य, तथा क्षेत्रीय र बहुपक्षीय मुद्दाका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
दुवै देशका प्रधानमन्त्रीको समुपस्थितिमा सरकारी तवरबाट संस्कृति तथा पर्यटनका क्षेत्रमा दुई वटा समझदारी भएको छ भने गैरसरकारी क्षेत्रबीच विभिन्न छ वटा विषयका समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र थाइल्यान्डका संस्कृतिमन्त्री सुडवान वाङसुफाकिज्कोसोलले सांस्कृतिक क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
त्यस्तै परराष्ट्रमन्त्री डा देउवा र थाइल्यान्ड सरकारका पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तियनथोङले पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र थाइल्यान्डका गैरसरकारी क्षेत्रहरूबिच विभिन्न छ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छन् ।
यसमा नेपाल नेत्र ज्योति सङ्घ र थाइल्यान्डको महिदोल विश्वविद्यालयअन्तर्गतको रामाथिवोदी अस्पतालबिच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा. चेतराज पन्त र महिडोल युनिभर्सिटीका चिकित्सा सङ्काय, रामाथिबोडी अस्पतालका डिन प्राध्यापक आर्टिट उङ्कानन्तले हस्ताक्षर गर्नुभएको छ ।
त्यस्तै, जनता एग्रो एन्ड फरेस्ट्री नेपाल (जेएएफएल) र कासेटसार्ट विश्वविद्यालय थाइल्यान्डबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र थाइल्यान्डको व्यापार बोर्डबिचको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौँ विश्वविद्यालय र थाइल्यान्डको सियाम विश्वविद्यालय सहकार्यसम्बन्धी पत्रमा पनि हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसङ्घ र थाइ उद्योग महासङ्घबिच सहकार्यसम्बन्धी सम्झौतापत्रमा समझदारी भएको छ । त्यस्तै, नेपाल चेम्बर अफ कमर्स र थाइल्यान्ड पर्यटन परिषदबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
Sudina Shrestha
प्रकाशित: २० चैत्र २०८१, बिहीबार ०८:५१
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
