कपिलवस्तुबाट आठ महिनामा ८४ जना लागुऔषध कारोबारी पक्राउ


कपिलवस्तु, आठ महिनामा ८४ जना लागुऔषध कारोबारीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको बताएको छ। चालू आर्थिक वर्षको साउनयता ८४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

सबैभन्दा धेरै ब्राउन सुगरसहित ५२ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट २२१.८८२ ग्राम ब्राउन सुगर बरामद गरिएको अधिकारीले बताए। यस्तै, १६८ ट्याबलेट नाइट्राभेटसहित ९ जना पक्राउ परेका छन् भने १७ किलो २५४ ग्राम चरेससहित ६ जना पक्राउ परेका छन्। ४४ किलो ७१ ग्राम गाँजासहित पाँचजना, ६६ क्याप्सुल स्पास्मोसहित तीनजना, ९१३६४३ क्याप्सुल ट्रमाडोलसहित दुईजना, फेनरामाइन इन्जेक्सान ९३ एम्पुलसहित दुईजना र एम्पुलेक्स ९२७ ट्याबलेटसहित एकजना पक्राउ परेका छन्।

फागुनमा मात्रै १० जना लागुऔषधसहित पक्राउ परेका प्रहरीले बताएको छ। पक्राउ परेका सबैलाई प्रहरीले लागुऔषध नियन्त्रण ऐनबमोजिम मुद्दा दर्ता गरेर अनुसन्धान थालेको जनाएको छ। प्रहरीले सञ्चालन गरेको लागुऔषध नियन्त्रण अभियानका क्रममा गाँजा, चरेस, अफिम, खैरो हेरोइन, नियन्त्रित पदार्थसमेतको अवैध कारोबारमा संलग्न अभियुक्त जिल्लामा धमाधम पक्राउ परिरहेका छन्।

प्रहरीले नागरिकसँगको सहकार्यमा अभियानमार्फत लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताए। प्रहरीका अनुसार विश्वव्यापी समस्याको रूपमा रहेको लागुऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: ११ चैत्र २०८१, मंगलवार २१:५५