
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक र सम्बन्धन प्राप्तसहित झण्डै चार सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ ।
१०७ वटा क्याम्पसमा यसअघि नै निर्विरोध सभापति चुनिएका छन् । केही ठूला क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ । ६२ मध्ये १३ आंगिक क्याम्पसमा चुनाव नहुने भएको हो ।
काठमाण्डौ उपत्यकाभित्र विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर, सरस्वती बहुमुखी, शंकरदेव, पब्लिक युथ, नेपाल ल र विश्वभाषा तथा काठमाण्डौ उपत्यकाबाहिर बुटवल बहुमुखी क्याम्पस, सुर्खेत बहुमुखी, भैरहवा बहुमुखी, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, पक्लिहवा बहुमुखी क्याम्पस, तेह्रथुम बहुमुखी क्याम्पस र कृषि क्याम्पस खैरहनीमा चुनाव स्थगित भएको छ । अरु केही क्याम्पसमा तोडफोड र तालाबन्दी भएको छ ।
विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा भने ८ गते चुनाव हुने भएको छ । आज चुनाव हुने क्याम्पसहरुमा प्रत्यक्ष र समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन हुनेछ । त्रिभुवन विश्वविद्यालयले प्रत्यक्ष र समानुपातिक प्रणालीलाई मिश्रित रूपमा लागू गरी स्ववियु चुनाव सञ्चालन गर्ने व्यवस्था गरेको छ ।
यसअनुसार, चुनावी प्रक्रियाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्यहरू प्रत्यक्ष प्रणालीबाट चयन गरिन्छन् भने उपाध्यक्ष, सहसचिव तथा बाँकी ५० प्रतिशत सदस्यहरू समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन् । विद्यार्थी सङ्ख्याका आधारमा स्ववियु कार्यसमितिको सदस्य सङ्ख्या निर्धारण गरिन्छ ।
दुई सयसम्म विद्यार्थी भएका क्याम्पसमा ११ सदस्यीय कार्यसमिति, दुई सयदेखि एक हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १५ सदस्यीय कार्यसमिति, एक हजारदेखि तीन हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १९ सदस्यीय कार्यसमिति र तीन हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । आज हुने स्ववियु चुनावको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ४ चैत्र २०८१, मंगलवार ०८:१५
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
