
काठमाण्डौ । ‘सगरमाथा संवाद’ मा विभिन्न देशका ३ सय ५० जनाभन्दा धेरैलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद आउँदो जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम हुँदैछ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादमा विभिन्न देशका ३ सय ५० जनाभन्दा धेरैलाई निम्तो पठाइने बताएका हुन् । सरकारले निम्तो पठाइएकामध्ये १ सय ५० जनाभन्दा धेरै व्यक्ति सहभागी हुने अपेक्षा गरेको छ ।
निम्तो दिनका लागि विदेशमा रहेको नेपाली राजदूतावास र नेपालमा रहेका सम्बन्धित देशका राजदूतावासलाई प्रयोग गरिएको परराष्ट्र सचिव राईले बताए ।
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले हिमालको मुद्दाको नेतृत्व नेपालले लिनेगरी सगरमाथा संवादलाई अघि बढाएको जानकारी गराए । जलवायु परिवर्तनबाट भएको हानि तथा नोक्सानीबारे आवाज उठाइरहेको उनले बताए । मुख्यसचिव अर्यालले सगरमाथा संवादलाई सरकारले उच्च महत्त्वका साथ अघि बढाएको उल्लेख गरे ।
सगरमाथा संवादको पहिलो दिन हिमनदी संरक्षणका विषयमा तत्काल गर्नुपर्ने कामबारे छलफल हुनेछ । पहिलो दिन नै टापुहरूलाई उच्च पहाडी क्षेत्रसँग जोड्नेबारे संवाद हुनेछ । खाद्य सुरक्षा तथा कृषि पुनरोत्थान, पहाडी क्षेत्रमा समुदायद्वारा प्रवर्द्धन गरिने क्रियाकलापबारे पनि छलफल हुनेछ ।
सगरमाथा संवादको दोस्रो दिन जलवायुजन्य प्रकोप, जोखिम न्यूनीकरण र पुनरोत्थानबारे छलफल हुनेछ । हिमालको जोखिमका लागि भएका अनुगमन र यसको उपलब्धि, हिमालमा भएका क्षतिलाई न्यूनीकरण गर्दा भएका प्रयासबारे पनि छलफल हुनेछ ।
सगरमाथा संवादको तेस्रो दिन संवादमा सहभागी हुन आएका पाहुनालाई हवाई यात्रामार्फत सगरमाथा क्षेत्र अवलोकन गर्न लगिने कार्यक्रम रहेको मुख्यसचिव अर्यालले जानकारी दिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३ चैत्र २०८१, सोमबार ०८:२४
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
