
कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताएका छन् ।
आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको व्यवस्थाको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिँड्न सबैमा आग्रह गरे ।
प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गर्दै भावनामा बगेर देश नबन्ने स्पष्ट पारे । उनले मुलुकमा फेरि अस्थिरता जन्माउने खेल भएकाले प्रमुख राजनीतिक दलका यसविरुद्ध उभिएकामा धन्यवाद व्यक्त गरे ।
उनले प्रश्न गर्दै भने, ‘पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने भन्ने पनि हल्ला चलाइएको छ । कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ? जनताले मानिदिन परेन ?’। प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिमा आउने बाटो खुल्ला रहेको समेत बताए ।
पूर्वराजाले फागुन ७ गतेका लागि गरेको सम्बोधनलाई स्मरण गर्दै भने, ‘उहाँले संविधानको कुरा गर्नुहुन्न, कानुनको पनि गर्नुहुन्न, लोकतन्त्र, प्रणाली र प्रक्रियाको पनि कुरा गर्नुहुन्न । मलाई साथ दिनुहोस् म आउँछु देश बचाउँछु भन्नुहुन्छ । देश के भएको छ ?’
पूर्वराजा ज्ञानेन्द्रलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म उहाँलाई सुझाव दिन चाहन्छु, राजनीतिमा आउने भए स्वागत छ । तर, के कुरामा साथ माग्नुभएको बुझिएन ।’ सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकार चुनावसम्म चल्ने दाबी गरे । उनले भने ‘अबको १६ महिनासम्म सरकार म चलाउँछु । त्यसपछि म नेपाली कांग्रेसलाई सुम्पिन्छु । १६ महिनापछि शेरबहादुर देउवाजी प्रधानमन्त्री हुनुहुन्छ । १८ महिना उहाँले चलाउनुहुन्छ ।’
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २६ फाल्गुन २०८१, सोमबार ०९:०८
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
