कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताएका छन् ।
आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको व्यवस्थाको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिँड्न सबैमा आग्रह गरे ।
प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गर्दै भावनामा बगेर देश नबन्ने स्पष्ट पारे । उनले मुलुकमा फेरि अस्थिरता जन्माउने खेल भएकाले प्रमुख राजनीतिक दलका यसविरुद्ध उभिएकामा धन्यवाद व्यक्त गरे ।
उनले प्रश्न गर्दै भने, ‘पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने भन्ने पनि हल्ला चलाइएको छ । कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ? जनताले मानिदिन परेन ?’। प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिमा आउने बाटो खुल्ला रहेको समेत बताए ।
पूर्वराजाले फागुन ७ गतेका लागि गरेको सम्बोधनलाई स्मरण गर्दै भने, ‘उहाँले संविधानको कुरा गर्नुहुन्न, कानुनको पनि गर्नुहुन्न, लोकतन्त्र, प्रणाली र प्रक्रियाको पनि कुरा गर्नुहुन्न । मलाई साथ दिनुहोस् म आउँछु देश बचाउँछु भन्नुहुन्छ । देश के भएको छ ?’
पूर्वराजा ज्ञानेन्द्रलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म उहाँलाई सुझाव दिन चाहन्छु, राजनीतिमा आउने भए स्वागत छ । तर, के कुरामा साथ माग्नुभएको बुझिएन ।’ सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकार चुनावसम्म चल्ने दाबी गरे । उनले भने ‘अबको १६ महिनासम्म सरकार म चलाउँछु । त्यसपछि म नेपाली कांग्रेसलाई सुम्पिन्छु । १६ महिनापछि शेरबहादुर देउवाजी प्रधानमन्त्री हुनुहुन्छ । १८ महिना उहाँले चलाउनुहुन्छ ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
