काठमाडौं, आयोजक नेपालसँगै म्यानमार फोर नेसन्स अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोली आ–आफ्नो खेलमा विजयी हुँदै एक खेलअघि नै उपाधिनजिक पुगेका हुन्। लेबनानलाई नेपालले १–० ले हरायो। साबित्राले ११ हजार ८७३ समर्थकमाझ निर्णायक गोल गरेकी थिइन्।
दिनको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० ले हराएको थियो। लगातार दोस्रो जितपछि नेपाल र म्यान्मारको समान ६ अंक छ। गोलअन्तरमा म्यानमार शीर्ष स्थानमा छ। लगातार दोस्रो हारपछि किर्गिस्तान र लेबनान प्रतियोगिताबाट बाहिरिएका छन्। अब, सान्त्वना जितको लागि किर्गिस्तान र लेबनान तथा शीर्ष स्थानमा रहन नेपाल र म्यानमारबिच आइतबार प्रतिस्पर्धा हुनेछ।
आफूभन्दा ३१ स्थान तल रहेको लेबनानविरुद्धको जितमा साबित्राले निर्णायक गोल गरिन्। दशरथ रंगशालामा नेपालले खेलको ४१औं मिनेटमा अग्रता बनायो। स्ट्राइकर सबित्रा भण्डारीले गोल गरिन्। उनले बक्सबाहिरबाट हानेको प्रहार लेबनानको डिफेन्डर फरा एल तैयरलाई लाग्दै गोल भएको थियो। प्रतियोगितामा साबित्राको यो पहिलो गोल हो।
यसअघि खेलको इन्जुरी समयमा लेबनानको जावा अरबीको प्रहार क्रसबारमा लागेर फर्किएपछि लेबनान बराबरी गर्न चुकेको थियो। यसअघि अग्रपंक्तिमा साबित्रासँगै रेखा पौडेल, रश्मिकुमारी घिसिङ, सबिता रानामगर चुक्दा नेपाल एक गोलबाट बढाउन सकेन।
लेबनानविरुद्ध नेपालको लगातार दोस्रो जित हो। यसअघि सन् २०२४ मा भएको खेलमा नेपालले लेबनानलाई २–१ ले हराएको थियो। वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रीति राई र साबित्रा भण्डारी चम्किएपछि नेपालले पहिलो भेटमा रोमाञ्चक जित निकालेको हो।
फोर नेसन्सको दोस्रो खेलमा प्रशिक्षक राजेन्द्र तामाङले दुई खेलाडी परिवर्तन गरेका थिए। पहिलो खेलमा किर्गिस्तानविरुद्ध घाइते भएकी डिफेन्डर निशा थोकरको स्थानमा समीक्षा घिमिरे खेलिन्। दोस्रो हाफमा मैदान उत्रिएकी स्ट्राइकर साबित्रा भण्डारीलाई दोस्रो खेलमा भने तामाङले सुरुमै खेलाएका थिए।
गोलकिपरमा कप्तान अञ्जिला तुम्बाप्पो सुब्बारहँदा समीक्षाले गीता राना, पुजा राना र विमला विकलाई साथ दिइन्। मिडफिल्डरमा रेनुका नगरकोटेसँगै प्रीति राई, सबिता रानामगर र विमला चौधरीलाई निरन्तरता दिइएको थियो। साबित्रालाई अग्रपंक्तिमा रेखा पौडेलले साथ दिइन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
