काठमाडौं। प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा र प्रिज्मा एड्भटाइजिङका प्रमुख रन्जीत आचार्यको संयुक्त स्वामित्वमा स्थापना भएको बाइस्कोप सिनेमा प्रा।लिले आफ्नो पहिलो सिनेमा ‘परान’ को औपचारिक घोषणा गरेको छ। बुधबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सिनेमाको औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो। नेपाली मौलिकता र संस्कृतिलाई संरक्षण गर्दै व्यवसायिकता थप्ने उद्देश्यका साथ यो सिनेमा निर्माण हुने बताइएको छ।

सिनेमाको निर्देशन चर्चित हास्य कलाकार दीपक आचार्य (काकु) ले गर्नेछन्। यो उनका लागि निर्देशनको डेब्यु हुनेछ। सिनेमामा नीर शाह प्रमुख भूमिकामा रहनेछन्। साथै, मदन कृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रविण खतिवडा, बुद्धि तामाङ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, यमन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहनेछ। निर्देशक दीपक आचार्यका कान्छा छोरा आर्यदीप आचार्य बालकलाकारका रूपमा देखिनेछन्।
सिनेमा फागुनको पहिलो सातादेखि फ्लोरमा जाने तयारीमा छ। छायाङ्कन काठमाडौं र धनकुटामा हुनेछ। सिनेमाको छायाङ्कन शिवराम श्रेष्ठले गर्नेछन् भने सुप्रिम पराजुलीले रंग संयोजनको जिम्मेवारी सम्हाल्नेछन्।
घोषणा कार्यक्रममा बोल्दै शेखर गोल्छाले आफूले विगतमा उद्योग वाणिज्य महासंघको अध्यक्षको हैसियतले विभिन्न जिल्लाका महोत्सवहरूमा सहभागी हुँदा नेपाली मौलिकता हराएको अनुभूति गरेको प्रसङ्ग सुनाए। उनले नेपाली संस्कृति र मौलिकतालाई जीवन्त राख्न सिनेमा निर्माणको यात्रा सुरु गरेको बताए। सिनेमा निर्माणमा व्यवसायिकता मात्र नभई पारदर्शिता र अनुशासनसमेतलाई प्राथमिकता दिने योजना रहेको उनले बताए।

रन्जीत आचार्यले सन् २०१७ मै सिनेमा निर्माणका लागि बाइस्कोप सिनेमा प्रा।लि। स्थापना गरे पनि महामारीका कारण काम अघि बढ्न नसकेको बताए। अब भने नेपाली दर्शकका लागि नेपाली मौलिकतामा आधारित सिनेमा निर्माण गर्दै अन्तर्राष्ट्रिय फिल्म निर्माण कम्पनीहरूसँग सहकार्य गर्ने योजना रहेको उनले जानकारी दिए।
सिनेमा घोषणा कार्यक्रममा नेपाली फिल्म क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू राजेश हमाल, हरिबंश आचार्य, दीपाश्री निरौला, निशा अधिकारी, दिनेश डिसी, अशोक शर्मा, कृष्ण मल्लजस्ता कलाकारहरूको उपस्थिति थियो। साथै, उद्योग क्षेत्रका चर्चित व्यवसायीहरू सौरभ ज्योति, भास्कर राज राजकर्णिकार, पशुपति मुरारका लगायतको उपस्थिति रहेको थियो।

‘परान’ नेपाली मौलिकता झल्काउने सिनेमा मात्र नभई नेपाली फिल्म उद्योगमा व्यवसायिकता र पारदर्शिता स्थापना गर्ने लक्ष्यका साथ निर्माण हुँदैछ। यस सँगै नेपाली सिनेमा क्षेत्रमा कर्पोरेट संस्कृति विकासको सुरुवात हुने अपेक्षा गरिएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-24
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
