किरण बहादुर भण्डारी भए सशस्त्रको वर्ष जवान, सगरमाथा आरोही पुरुषोत्तम नेपाली पनि सम्मानित

काठमाडौं। सशस्त्र प्रहरी बलको २४औं स्थापना दिवसका अवसरमा सगरमाथा आरोही, कलाकार र उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको छ।

सशस्त्र प्रहरीबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रहरी निरीक्षक सुरज पौडेल र नेपाल प्रहरीबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने वरिष्ठ प्रहरी नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई विशेष सम्मान प्रदान गरियो। नेपालीलाई यसअघि इन्टरपोलले समेत सम्मानित गरेको थियो।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दुवै सगरमाथा आरोहीलाई ‘आईजी एपीएफ कमेन्डेसन’ अवार्ड प्रदान गरे।

पुरुषोत्तम नेपालीलाई वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनद्वारा सम्मान

नेपाल प्रहरीका सगरमाथा आरोही पुरुषोत्तम नेपालीलाई वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनद्वारा “सर्टिफिकेट अफ एक्सिलेन्स” (Certificate of Excellence) बाट विभूषित गरिएको छ। यो सम्मान वर्ल्ड बुक अफ रेकर्ड्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष शुक्ला, अध्यक्ष सागर कटवाल, वरिष्ठ पत्रकार हरिगोपाल प्रधान, वरिष्ठ गायिका देविका बन्दना र नेपाली हिपहप सम्राट निर्णय श्रेष्ठको विशेष उपस्थिति र आयोजनामा प्रदान गरिएको हो।

किरण भण्डारी ‘वर्ष जवान’ घोषित

कार्यक्रममा सशस्त्र प्रहरी सहायक हबल्दार किरण बहादुर भण्डारीलाई ‘वर्ष जवान–२०८१’ को उपाधि दिइएको छ। उनी सशस्त्र प्रहरी बल, नेपाल नं। ३३ त्रियुगा गण, जुम्ला दरबन्दी भई हाल ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतमा कार्यरत छन्।

यस वर्ष उत्कृष्ट इकाइको रूपमा नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, २१ नम्बर दक्षिणकाली गण ललितपुर, ३० नम्बर गुल्म स्याङ्जा र मद्दत तथा सेवा गुल्म मकवानपुरले ‘रनिङ्ग अवार्ड’ प्राप्त गरेका छन्।

सुरज रिजाललाई ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’

सीमा अपराध नियन्त्रणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाललाई ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’ प्रदान गरियो। यो अवार्ड कर्तव्य पालनाको क्रममा निधन भएका सशस्त्र प्रहरी उपरीक्षक स्व। सुमन थपलियाको स्मृतिमा स्थापित अक्षय कोषको ब्याजबाट प्रदान गरिन्छ।

अन्य विशिष्ट सम्मान

सशस्त्र प्रहरी नायब उपरीक्षक आनन्द खनालसहित चार जना कर्मचारीहरुलाई उत्कृष्ट फायरर अवार्ड दिइयो। साथै, सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश गैरेले ‘एपीएफ कला, साहित्य सम्मान’ प्राप्त गरे।

तेश्रो पटक पुरस्कृत सहप्रवक्ता थापा

सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापा तेश्रो पटक पुरस्कृत भएका छन्। यसपटक उनलाई ‘आईजी एपीएफ कमेन्डेसन’ अवार्ड प्रदान गरिएको हो। यसअघि उनले २०औं र २१औं सशस्त्र प्रहरी दिवसमा पनि उत्कृष्ट कार्यका लागि पुरस्कार प्राप्त गरेका थिए।

विशेष सहयोग र सम्मान

कार्यक्रममा कर्तव्य पालनाको क्रममा दिवंगत तीन जना अधिकृतका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको थियो। साथै, सशस्त्र प्रहरी कर्मचारी, खेलाडी र कलाकार गरी १८ जनालाई विशेष सम्मान र दुई जनालाई दर्ज्यानी चिह्न प्रदान गरियो।

सशस्त्र प्रहरी मुख्यालयमा आयोजित यस विशेष कार्यक्रममा कर्तव्यनिष्ठता, साहस र उत्कृष्ट कार्यको कदर गर्दै विभिन्न पुरस्कार र सम्मान प्रदान गरियो।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: ९ माघ २०८१, बुधबार १६:२२