
काठमाडौं । इजरायल र हमासबीचको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन हुने भएको छ । इजरायलको मन्त्रिपरिषदले शनिबार दुई पक्षबीच भएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम कार्यान्वयनमा आएको हो ।
यो युद्धविराम सम्झौता तीन चरणमा पूरा हुने उल्लेख छ । अधिकारीहरुका अनुसार यसअवधिमा प्यालेस्टिनी र इजरायली बन्धक रिहा गरिनेछ । पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनी रिहा हुनेछन् । त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुने समाचारमा बताइएको छ । इजरायली सेना सात सय मिटर पछि हट्ने छन् ।
इजरायलको न्याय मन्त्रालयले पहिलो चरणमा ७३७ प्यालेस्टिनी रिहा हुने जनाएको थियो । त्यसको पूर्णसूची सार्वजनिक गरिएको छैन । तर, मन्त्रालयले आइतबार ६९ महिला, १६ पुरुष र १० नाबालिगलाई मुक्त गर्ने जनाएको छ । इजरायलले हरेकदिन आफ्नो एक बन्धकको बदलामा ३३ प्यालेस्टिनीलाई रिहा गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी एक महिला सैनिकको बदलामा ५० प्यालेस्टिनीलाई रिहा गर्ने छ ।
पहिलो चरणको युद्धविराम कार्यान्वयन भएमा दोस्रो चरणका लागि वार्ता सुरु हुने अधिकारीहरुले बताएका छने । यस क्रममा दुवैपक्षबाट कुनैपनि आक्रमण नगर्ने, राहत सामग्री आपूर्ति गर्ने र बन्दी रिहाइ जारी राख्ने सहमति भएको छ ।
युद्धविरामको क्रममा इजरायलले कूल १ हजार बढी प्यालेस्टिनीलाई रिहा गर्ने छ । रिहा हुनेहरुको सूचीमा १५ वर्षदेखि इजरायलमा बन्दी जीवन बिताइरहेकाहरु पनि रहेका अन्तर्राष्ट्रिय समाचार एजेन्सी बीबीसी र सीएनएनले उल्लेख गरेका छन् ।
यसैगरी, तेस्रो चरणमा इजरायलको आक्रमणबाट ध्वस्त गाजा क्षेत्रमा पुनर्निर्माण सुरु हुनेछ । सम्झौता अनुसार पुनर्निर्माणको काम ३ देखि ५ वर्षभित्र सक्ने लक्ष्य छ । यसक्रममा कब्जा लिइएको अवस्थामा मृत्यु भएका बन्धकहरुको शव पनि आदान–प्रदान गरिने छ ।
युद्धविराम सम्झौता कार्यान्वयन अमेरिकासहित चार देशका प्रतिनिधिले निगरानी गर्नेछन् । निगरानीका लागि अमेरिका, इजिप्ट, कतार र इजरायलका प्रतिनिधि रहेको एक संयुक्त कार्यालय समिति गठन गरिएको छ । मानवअधिकारवादी संस्थाहरुले पनि आफ्नो ढंगले निगरानी जारी राख्ने बताइएको छ ।
युद्धविरामसँगै युद्ध बन्दीहरु रिहा हुन लागेको खबरले उनीहरुका आफन्त हर्षित र भावुक भएका छन् । शनिबार इजरायलको राजधानी तेल अभिभमा महिलाहरु भेला भएर आफ्ना आफन्तका लागि प्रार्थना गरिरहेको देखिएको थियो ।
सन् २०२३ को अक्टुबर ७ मा इजरायली भूमिमा छिरेर हमासले आक्रमण गर्दा १० नेपालीसहित १ हजार २०० जनाको मृत्यु भएको थियो नेपालका विपिन जोशीसहित २५० भन्दा बढीलाई बन्धक बनाएर लगेको थियो । त्यसको केही घण्टापछि इजरायली सेनाले हमासविरुद्ध गाजा क्षेत्रमा आक्रमण गरेको थियो । यस आक्रमणबाट ४६ हजार जनाको मृत्यु भइसकेको छ । १५ महिना लामो युद्धपछि सन् २०२५ जनवरी १५ मा इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति भएको हो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ६ माघ २०८१, आईतवार ०९:०९
झोछेंबाट देखिने हनुमानढोका दरबारको सौन्दर्यले पर्यटकलाई मोहित

केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका रिहा

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

कमलपोखरी ग्याँस विस्फोटका घाइते सबैलाई कीर्तिपुर लगियो

सुरक्षाकर्मीले चलाएको गोली लागेर हात्तीको मृत्यु

रविविरुद्ध थुकछेक बहस सुरु, आजै आदेश आउने
