
काठमाण्डौं । नेपाल र चीनका निजी क्षेत्रबीच पहिलो चरणमा नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलर अर्थात नेपाली दुई खर्ब रुपैयाँ भन्दा धेरैको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ ।
काठमाण्डौमा आइतबार आयोजित एक कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीसँगै पहिलो चरणमा वार्षिक डेढ अर्ब अमेरिकी डलर मूल्य बराबरको मासु निर्यात गर्ने लक्ष्य राखिएको छ ।
हिमालयन फुड इन्टरनेशनलको सहकार्यमा छ अर्ब लागतमा पूर्ण स्वचालित आधुनिक पशु बधशाला आउँदो छ महिनाभित्र निर्माण सम्पन्न गर्ने पनि समझदारी बनेको छ । हिमालयन फुड प्रशोधित मासु निर्यातका लागि २०६८ सालमा स्थापना भएको थियो । कम्पनीले विभिन्न देशमा प्रशोधित मासु निर्यात गर्दै आइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गएको मङ्सिर १७ मा भएको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच प्रशोधित राँगाभैँसीको मासु चीन निर्यात गर्नेसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो ।
पशुपालनमा संलग्न भएका र हुन चाहनेलाई फाइदा पुग्ने विश्वास
चीनमा छ हजारभन्दा धेरै ‘आउटलेट’ भएको खाद्यान्न तथा प्याकेटको मासुजन्य परिकार बेच्ने जियान फुडले राँगाभैँसी पालनका लागि प्राविधिक सहायताका साथै नेपालमा २० अर्ब रुपैयाँ बराबरको लगानी गर्न चाहेको पशु बधशाला व्यवसायी सङ्घका अध्यक्ष डा।नवीनकुमार शर्माले जानकारी दिए ।
यसबाट पशुपालनमा संलग्न भएका वा हुन चाहने युवाले फाइदा लिन सक्ने विश्वास गरिएको छ । कार्यक्रमको कार्यान्वयनसँगै घाँस तथा साइलेज, पशुदाना, कुखुराको दानाका लागि चाहिने मासु र हड्डी, छाला प्रशोधनसँग सम्बन्धित उद्योग, कृषिक्षेत्रमा लगानी बैंक तथा वित्तीय संस्थाले सहकार्य गर्न सक्ने छन् ।
सरकारको सहयोगमा खोरेत रोगको नियन्त्रण कार्यक्रम सञ्चालन, घाँस उत्पादनका लागि सरकारी जग्गा उपलब्ध गराउने, पशुपालक किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेलगायत किसानको हितका कार्यक्रम सञ्चालन गरिनेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २ पुष २०८१, मंगलवार १०:३०
सुनको मूल्यमा नयाँ रेकर्ड, ४ हजार बढेर १ लाख ७४ हजार ५०० रुपैयाँ पुग्यो

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

आज तराईमा होली मनाइँदै

युक्रेनसँगको युद्धविराममा सहमत नभए रुसले विनासकारी परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

युवाहरूबीच झगडा हुँदा एकको मृत्यु

The price of gold being traded at Rs 170,500 per tola
