काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।
चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउँछन् ।
कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-09-18
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
